प्रख्यात धाविका मीरा राईले सञ्चालन गरेको मीरा राई इनिसियटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेका छन् । राजेन्द्रले उक्त सहयोग रकम लण्डन म्याराथन २०२४ मा दौडेर संकलन गरेका हुन् ।
दिवंगत आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागिता जनाएका उनले परिवार, साथीभाइ र इष्टमित्रबाट च्यारिटी रकम संकलन गरेका हुन् । उक्त दौड उनले ३ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पूरा गरेकी थिइन् ।
रकम दक्षिणकाली नगरपालिका–३ फर्पिङमा निर्माणाधीन मीरा राई ट्रेनिङ सेन्टर तथा आवासका लागि खर्च गरिने छ । राजेन्द्रलाई उक्त रकम उनकी पत्नी अनिता, इष्टमित्र तथा आफन्त सन्तोष राई, प्रकाश गुरुङ, लव गुरुङ, प्रदीप गुरुङ, नेपाल रन युके लगायत लालीगुराँस एसोसियसन हङकङ, युके, अष्ट्रेलिया र नेपाल लगायतले सहयोग गरेका हुन् । राजेन्द्र तेक्वान्दो, भलिबल र शारीरिक सुगठनका पूर्वखेलाडी पनि हुन् ।
भवन निर्माण स्थल फर्पिङमै पुगेर व्यवसायी तथा सामाजिक अभियन्ता सुनिल गुरुङ र प्रकाश गुरुङले बिहीबार मीरा र इनिसियटिभका महासचिव तेन्जी शेर्पालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए । खेलकुदप्रेमी सुनिल प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहकार पनि हुन् ।
विश्वभर छरिएर रहेका नेपालीलाई सहयोगका लागि अपिल गर्दै गुरुङले संसारभर नेपालको नाम चम्काउने मीरा जस्ता साहसी खेलाडीलाई सबैले सहयोग गर्नुपर्ने बताए । करिब १ करोड ५० लाखको लागतमा बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवन अल्ट्रा ट्रेल रनिङ खेलाडीका लागि आवास तथा तालिमका लागि प्रयोगमा ल्याइनेछ ।
‘देशविदेशमा रहेर अथक मेहनतका साथ आर्जन गरेको रकम हाम्रो सपना पुरा गर्न खर्चिनु हुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु’, मीराले खुशी व्यक्त गर्दै भनिन्, ‘यो सहयोगले हामीलाई अत्यन्तै खुशी मात्र बनाएको छैन, खेलाडीका लागि यथासम्भव छिटो आवास निर्माण गर्न थप बल पुगेको छ ।’
अल्ट्रा ट्रेल रनिङका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य साथ अघि बढेको यो अभियानमा यस्तो सहयोगले ठूलो आत्मबल मिल्ने समेत उनले बताइन । ‘आफूले अहिलेसम्म जाने सिकेका कुरा नयाँ पिँढीलाई हस्तान्तरण गर्न चाहन्छु’, मीराले भनिन, ‘अवसर नपाएका प्रतिभावान् खेलाडी खोजी नेपाली ट्रेल रनिङलाई विश्वमाँझ चिनाउने लक्ष्य छ ।’
देश विदेशमा खेलेर जम्मा गरेको पैसाले जग्गा जोडन सफल भएपनि भवन बनाउन सम्भव थिएन तर विश्वभर रहनुहुने शुभचिन्तकका सहयोगले आज सपना साकार हुने अवस्थामा आइपुगेको समेत उनले सुनाइन् ।
विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गरेकी नेपाली धाविका मीरा राई सन् २०१७ मा नेशनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) की विजेता पनि हुन् । ट्रेल रनर मीराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेकी छन् । हिमाली दौडमा विश्वमै चर्चित उनले २०७० को चैतमा अल्ट्रा रेसमा प्रवेश गरेकी थिइन् ।
तत्कालीन सेना समायोजनमा माओवादी छापामारको रुपमा ‘अयोग्य’ ठहरिएपछि उनको जीवन खेलतर्फ मोडिएको थियो । उनले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किलोमिटरको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी थिइन् । उनले हङकङ, इटाली, नर्वे लगायत देशमा भएका अल्ट्रा म्याराथनमा च्याम्पियन भइसकेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।