एसिसी महिला टी–२० एसिया कपको पहिलो खेलमा यूएईलाई हराउन नेपालले १ सय १६ रन बनाउनुपर्ने भएको छ ।
श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।
यूएईका लागि खुशी शर्माले ३९ बलमा दुई चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै, कविशा इगोडाजेले २२, समाइरा धरनिधर्कले १३ र कप्तान ईशा ओझाले १० रन जोडे ।
नेपालका लागि कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गरिन् । उनले ४ ओभरमा १९ रन दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै, कविता जोशी, कृतिका मरासिनी र सबनम राईले एक/एक विकेट लिए ।
नेपाललाई आज ऐतिहासिक जित निकाल्ने मौका छ । हालसम्म नेपालले एसिया कपमा जित निकाल्ने सकेको छैन । नेपाल सन् २०१२ मा नेपाल बंगलादेश, श्रीलंका र चीनसँग पराजित भएको थियो ।
यस्तै, नेपालले सन् २०१६ को एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्याण्डसँग पराजय बेहोरेको थियो ।
हालसम्म नेपाल र यूएईबीच चार खेलमा भेट भएको छ, जसमा नेपालले दुई र यूएईले एक खेल जितेको छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।