२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

क्यान्सर रोगको अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै काठमाडौं विश्वविद्यालय
फाइल फाेटाे

स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ । 


क्यान्सर रोगको समयमा नै पहिचान तथा उपचारार्थ प्रयोगशाला सञ्चालन गर्न केन्द्र स्थापना गर्ने योजना बनाएको जनाइएको हो । विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनमा केन्द्र सञ्चालन गर्न लागेको केन्द्रका निमित्त निर्देशक प्राडा राजेन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)को आर्थिक सहयोगमा स्थापित केन्द्रमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी राष्ट्रिस्तरको क्यान्सर रोग अनुसन्धान केन्द्र बनाउन लागिएको हो । 



उनले कोइकाले विश्वविद्यालयका लागि उपलब्ध गराएका स्वास्थ्य सामग्रीमा थप आवश्यक रसायनलगायत सामग्री ब्यवस्थापन गरी केही महिनामै सञ्चालनमा ल्याइने बताए । हाल पनि क्यान्सर रोग सम्बन्धित कतिपय परीक्षण गर्न विदेश पठाउनुपर्ने बाध्यता रहँदै आएकाले केन्द्र सञ्चालनपश्चात उक्त बाध्यता हट्ने प्राडाज्ञवालीको दाबी गरे । ‘परीक्षणका लागि विदेश पठाइएका नमूनाको रिपोर्ट आउन तीन/चार हप्ता लाग्ने गर्छ, रिपोर्ट आउँदा क्यान्सर अर्को चरणमा प्रवेश गरिसक्ने खतरा भएकाले बिरामीको समय र पैसा जोगाउन केन्द्रले मद्दत गर्नेछ’, उनले भने । 

विश्वविद्यालयले केन्द्र सञ्चालनका लागि हालैमात्र क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झालाई प्रमुखमा नियुक्त गरेको छ । केन्द्रको प्रयोगशालामा पहिलो चरणमा रक्त क्यान्सरको उपचारका लागि आवश्यक जनशक्ति, आधुनिक प्रविधि र सुविधा उपलब्ध गराउने जनाइएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालमानै सबै किसिमको क्यान्सरको जाँच गर्ने प्रविधि र उपकरण विश्वविद्यालयमा भित्र्याइसकिएको जानकारी दिए ।  





  • प्रकाशित मिति : ५ साउन, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया