logo-img

विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो, पालिकाले तिरेनन् सडक बत्तीको महसुल
फाइल फाेटाे

झापामा नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ । 

केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए । उनका अनुसार योसँगै ३४ जना ग्राहकले मात्र बक्यौता तिर्न बाँकी छ ।

‘विद्युत् काटिएका ग्राहकले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता महसुल र जरिवाना रु छ करोड ७० लाख २८ हजार चार सय १२ थियो । एक हजार एक सय ३६ ग्राहकबाट रु तीन करोड ९० लाख ९७ हजार पाँच सय ६७ असुली भएको छ’, प्रमुख साहले भने । उनका अनुसार बक्यौता बुझाउन बाँकी ३४ ग्राहकसँग प्राधिकरणले दुई करोड ७९ लाख ३० हजार आठ सय ४५ रुपैयाँ असुली गर्न बाँकी छ ।

अनारमनी वितरण केन्द्रका दुई सय ३७ ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरणले जनाएको छ । कालोसूचीमा रहेकाबाट एक करोड ३२ लाख ३१ हजार ६३ रुपैयाँ बक्यौता असुली गर्न बाँकी छ । 

एक अर्ब ३१ करोड राजस्व असुली

प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आवमा नयाँ विद्युत् लाइन जडान, नियमित विद्युत् महसुल, बक्यौता र जरिवाना असुली गरेर एक अर्ब ३१ करोड ८४ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।



जिल्लामा रहेका विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी ग्राहक अनारमनी केन्द्रमा रहेका छन् । यहाँ ९३ हजार चार सय १८ ग्राहक सङ्ख्या रहेको केन्द्रका प्रमुख साहले जानकारी दिए ।

ग्राहस्थ तथा गैरग्राहस्थ, व्यापारिक, गैरव्यापारिक, औद्योगिक, सडक बत्ती, सिँचाइ, खानेपानी, मन्दिर, यातायात, आन्तरिक खपत, सामुदायिक, मनोरञ्जनलगायत क्षेत्रमा ग्राहक विभाजन गरेर महसुल उठाउने गरिएको उनले बताए । 



पालिकाले तिरेनन् सडक बत्तीको महसुल 

अनारमनी वितरण केन्द्रअन्तर्गत छ नगरपालिका र पाँच वटा गाउँपालिकाका उपभोत्ताले विद्युत् सेवा पाउँदै आएका छन् । अधिकांश पालिकाले सडकबत्ती शीर्षकमा प्राधिकरणलाई तिर्नुपर्ने बिलको रकम नतिरेका केन्द्रका प्रमुख साहले गुनासो गरे । 

साहका अनुसार रकम भुक्तानी नगर्नेमा विर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका, मेचीनगरका–११, १२, १३ र १४, शिवसताक्षी नगरपालिका–७ र १०, इलामको माई नगरपालिका–५, झापा गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७, हल्दिबारी गाउँपालिका–१, बुद्धशान्ति गाउँपालिका–५, रोङ गाउँपालिका–२ रहेका छन् । उनले उल्लेखित पालिकाले सार्वजनिक भवन तथा सडक बत्ती बापतको रकम भुक्तानी गर्न बाँकी रहेको बताए । 

सबैभन्दा बढी बाह्रदशी गाउँपालिकाको ५५ लाख ३८ हजार ४६, विर्तामोड नगरपालिकाको २९ लाख ७४ हजार नौ सय ५७, मेचीनगर नगरपालिकाको १० लाख ८८ हजार छ सय २१ र कनकाई नगरपालिकाको १० लाख ६३ हजार सात सय ३९ रुपैयाँ बक्यौता रकम रहेको साहले जानकारी दिए । सबै पालिकालाई बारम्बार पत्राचार गरेर बक्यौता रकम बुझाउन आग्रह गरिरहेको उनले बताए ।  

  • प्रकाशित मिति : साउन १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया