७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

बढेकाेबढ्यै विद्यार्थी विदेसिने क्रम : कुन वर्ष कतिले लिए एनओसी ?

उच्च शिक्षा अध्ययनका लागि बर्सेनि लाखौँ नेपाली विद्यार्थी विश्वका विभिन्न देशमा जाने गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा अध्ययनका लागि विदेश जान एक लाख १२ हजार ५९३ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।

विश्वका विभिन्न ६६ देशमा जान एक वर्षमा नेपाली विद्यार्थीले उक्त संख्यामा एनओसी पत्र लिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार उक्त आर्थिक वर्षमा जापान जानका लागि सबैभन्दा धेरै विद्यार्थीले एनओसी पत्र लिएका छन् ।



जापानका लागि ३४ हजार ७३१ जना विद्यार्थीले एनओसी पत्र लिएको मन्त्रालयले जनाएको छ । जापानपछि सबैभन्दा धेरै क्यानडाका लागि एनओसी लिइएको छ । क्यानडाका लागि १५ हजार ९८२ जना विद्यार्थीले एनओसी लिएका छन् भने अष्ट्रेलियाका लागि १४ हजार ३७२ जनाले वैदेशीक अध्ययन अनुमति पत्र लिएका छन् ।

यस्तै, बेलायतका लागि १३ हजार ३३९ र अमेरिकाबाट उच्च शिक्षा प्राप्त गर्नका लागि ११ हजार २६१ जना विद्यार्थीले एनओसी पत्र लिएका छन् । यस्तै दक्षिण कोरियाका लागि ६ हजार ८८९ जना, भारत २ हजार ३८९, फ्रान्स १ हजार ४८९ र न्युजिल्यान्डका लागि १ हजार ४४६ जना विद्यार्थीले एनओसी पत्र लिएका छन् ।



कुन वर्ष कतिले लिए एनओसी ?

वैदेशिक अध्ययन अनुमतिपत्र लिने विद्यार्थीको तथ्यांक हेर्दा हरेक वर्ष फरक–फरक भए पनि समग्रमा उच्च शिक्षा अध्ययनको नाममा विदेश पलायन हुने विद्यार्थीको संख्या बढ्दै गइरहेको छ ।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा उच्च शिक्षा अध्ययनका लागि विदेश जान एनओसी लिने विद्यार्थीको संख्या बढ्दै गइरहेको देखिन्छ । यी तीन वर्षमा शिक्षा मन्त्रालयले ३ लाख ३९ हजारभन्दा बढीले एनओसी पत्र जारी गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा एक लाख १७ हजार एनओसी पत्र जारी गरेको शिक्षा मन्त्रालयले आर्थिक वर्ष १ लाख १० हजारवटा एनओसी पत्र जारी गरेको थियो ।



यस्तै, अघिल्लो आर्थिक वर्षमा १ लाख १२ हजार ५९३ वटा एनओसी पत्र जारी गरेको शिक्षा मन्त्रालयले सार्वजनिक गरेको पत्रले देखाएको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार एनओसी लिने विद्यार्थीको संख्या फरक भए पनि समग्रमा संख्या बढिरहेको देखिन्छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ६३ हजार २९५ विद्यार्थीले एनओसी लिएकोमा २०७६/०७७ मा ३४ हजार ९६ विद्यार्थीले एनओसी लिएको तथ्यांक शिक्षा मन्त्रालयअन्तगर्तको वैदेशिक अध्ययन अनुमति शाखासँग छ ।

विद्यार्थीसँग बढ्दै छ नेपाली पैसा बाहिरिने क्रम

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले सामान्यतया १५ देखि २० लाख रुपैयाँसम्म खर्च गर्ने गर्छन् । विदेश जाने विद्यार्थीको संख्या बढेसँगै नेपाली पैसा बाहिरिने क्रम पनि बढ्दै गएको छ । 

आव २०८०/०८१ मा मात्रै विदेश जाने क्रममा नेपाली विद्यार्थीले १ खर्ब १७ अर्बभन्दा बढी रकम विदेसिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाली विद्यार्थी अध्ययनका लागि कुन देश सबैभन्दा धेरै जान्छन् र त्यहाँको शैक्षिक शुल्क कति छ भन्ने कुराले हरेक वर्ष कति नेपाली पैसा बाहिरिन्छ भन्ने कुराको निर्धारण गर्ने गर्छ ।

आ.व २०७९/८० मा १ खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो भने आ.व २०७८/७९ मा ६७ अर्ब ७० करोड १६ लाख र आ.व २०७७/०७८ मा २४ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ विदेसिएको तथ्यांक नेपाल राष्ट्र बैंकसँग रहेको छ ।

यस्तै, आ.व २०७६/०७७ मा २५ अर्ब ८१ करोड ३२ लाख र २०७५/०७६ मा ४६ अर्ब २४ करोड ३ लाख रुपैयाँ विदेसिएको थियो ।

यसरी उच्च शिक्षा अध्ययनका लागि बर्सेनि ठूलो मात्रामा नेपाली पैसा विदेसिने भए पनि रेमिट्यान्समार्फत विद्यार्थीले त्योभन्दा धेरै पैसा नेपाल पठाउने गरेको शैक्षिक परामर्श क्षेत्रमा आबद्ध व्यक्तिहरू बताउने गर्छन् । 

तर, पछिल्लो समय विद्यार्थीले आफूसँगै आफ्ना परिवारलाई समेत विदेश लैजाने क्रम बढेकाले उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन भएका दक्ष युवा शक्ति अभाव हुँदै गएको छ । 

  • प्रकाशित मिति : १३ साउन, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया