logo-img

जथाभावी टाटु खोप्ने र मुन्द्रा लगाउने व्यक्ति हेपाटाइसिस ‘बी’ र ‘सी’को जोखिममा

हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’का कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । धेरैजसो हेपाटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुने गरेको चिकित्सकको भनाइ छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी सो समयमा हेपाटाइटिस ‘बी’ र ‘सी’को नयाँ संक्रमणलाई ९० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

हेपाटाइटिसका कारण कलेजो सिरोसिस र क्यान्सरबाट हुने मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ । तर, नेपाल सरकारले भाइरल हेपाटाइटिस बी र सीका लागि राष्ट्रिय रणनीति बनाए पनि यसको रोकथाम र बिरामीका लागि उचित व्यवस्थापन गर्न सकेको छैन । 

सरकारले लिभर हेल्थजस्तो महत्वपूर्ण विषयमा पनि प्राथमिकतासाथ काम नगरेको गुनासो गर्छन्, वीर अस्पतालका कलेजो रोग विशेषज्ञ प्रा.डा. दिलीप शर्मा । उनले भाइरल हेपाटाइटिस ए, ई र भाइरल हेपाटाइटिस बी र सीलाई जनस्वास्थ्यको गम्भीर चुनौती (मेजर थ्रेट) मान्न आवश्यक रहेको भन्दै अहिले सरकारको तर्फबाट लिभर हेल्थको लागि जति कामकारबाही हुनुपर्ने हो त्यो नभएको गुनासो गरे ।

उनले भने, ‘अहिलेसम्म कलेजोलाई सार्वजनिक पब्लिक हेल्थ इस्यु चाहिँ मानिएको छैन । भाइरल हेपाटाइटिस ए, ई र भाइरल हेपाटाइटिस बी र सीलाई जनस्वास्थ्यको  एउटा ठूलो मेजर थ्रेट मान्नुपर्ने हो । तर, सरकारमा कुरा त भएको छ, अहिले सरकारको तर्फबाट लिभर हेल्थका लागि जति कामकारबाही हुनुपर्ने हो त्यो भएको छैन ।’ साधारणतया कलेजोमा भएको समस्याको सुरुमा नै लक्षण नदेखिने, कतिपयलाई थाहा नहुने र पछि एकैचोटि समस्या जटिल भएपछि मात्रै बिरामी अस्पताल जाँदा लिभर ट्रान्सपालान्टसम्म गर्नुपर्ने अवस्था आउँदा आर्थिक भारमा थिचिने उनको भनाइ छ । 

डा. शर्मा सरकारले हेपाटाइटिस बी र सीलाई पत्ता लगाउने विषयमा गम्भीर भएर लाग्यो भने यस रोगको समस्या कम गर्न सकिने विश्वास व्यक्त गर्छन् । सरकारले  डाइग्नोसिस भएर औषधि गर्न बिरामीहरूको पहुँच नपुग्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाब दिन्छन् । 



त्यस्तै, नेपाल मेडिसिटी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. उमिदकुमार श्रेष्ठले सरकारले हेपाटाइटिसका लागि राष्ट्रिय नीति, प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर सबैखाले हेपाटाइटिसलाई सम्बोधन गर्नेगरी तयारी गर्न सुझाब दिए । ‘हेपाटाइटिसका लागि सरकारले राष्ट्रिय नीति बनाएको सुन्नमा आएको छ । तर, यसमा प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर मात्र नीति तयार गर्नुपर्छ । सबैखाले हेपाटाइटिसलाई सम्बोधन गर्नेगरी नीति बनाउनु जरुरी छ,’ उनले भने ।
 
दुर्व्यसनका कारण युवाहरूमा हेपाटाइटिस ‘सी’को जोखिम बढ्दो र टाटु लगाउने चलन र शरीरका जथाभावी कुन्डल अर्थात् मुन्द्री लगाउने चलनले ‘बी’ र ‘सी’को जोखिम बढ्दो क्रममा रहेको डा. श्रेष्ठ बताउँछन् । उनले यसको उपचार खर्चिलो र औषधि पनि महँगो हुने, सबैले उपचार गर्न नसक्ने भन्दै उपचारमा सहुलियतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने, ‘हिजोआज दुर्व्यसनका कारण युवाहरूमा हेपाटाइटिस ‘सी’को जोखिम बढ्दो छ । टाटु लगाउने चलन र शरीरमा जथाभावी कुन्डल अर्थात् मुन्द्री लगाउने चलनले पनि ‘बी’ र ‘सी’को जोखिम बढ्दो छ । यसको उपचार पनि खर्चिलो हुन्छ । भाइरसको संख्या बढी देखियो भने खर्च थप बढ्ने र औषधि पनि महँगो हुने भएकाले सबैले उपचार गर्न नसक्ने अवस्था आउन सक्छ । यसका लागि सरकारले सहुलियतको व्यवस्था गर्नुपर्छ ।’



हेपाटाइटिसका पाँच प्रकार छन् । हामीले सामान्यतः जन्डिसलाई हेपाटाइटिस भन्ने गर्छौं । यसमा पनि क्रोनिक र अक्युड दुई प्रकारका छन् । दीर्घकालीन र छोटो अवधिका लागि दुई प्रकारका हेपाटाइटिस मानिसहरूलाई हुने गर्छ । भाइरल हेपाटाइटिस ‘ए’ र ‘ई’ हाम्रो समाजमा बढी देखिने गर्छ । तर, विश्वभरको परिप्रेक्ष्यमा भाइरल हेपाटाइटिस ‘बी’र ‘सी’को बारेमा बढी छलफल भएको देखिन्छ र जोखिम पनि बढी हुनेगर्छ । अहिलेको अवस्थामा संसारभरमा करिब ३० करोड मान्छेहरूलाई हेपाटाइटिस ‘बी’ र ‘सी’ ले संक्रमण गरेको छ भन्ने तथ्यांक छ । २०२२ सम्ममा सबै भाइरल हेपाटाइटिस ‘बी’ले मात्र २५ करोड जति मानिसलाई संक्रमण गरेको भन्ने तथ्यांक छ । 

डा. उमिदकुमार श्रेष्ठका अनुसार त्यसमध्ये हेपाटाइटिस ‘बी’ र ‘सी’को संक्रमण पश्चिमी राष्ट्रभन्दा नेपालमा अलि कम नै छ । तर, जति पनि छ त्यो अलि बढी संवेदनशील नै छ । किनभने हेपाटाइटिस ‘बी’को दीर्घकालीन असर हुन्छ । यसको प्रभाव पनि बढी नै हुन्छ । यसबाट कलेजोको क्यान्सर पनि हुनसक्छ । त्यसकारण हेपाटाइटिस ‘बी’ र ‘सी’एकदमै संवेदनशील भएको हुनाले नेपालमा जति संख्यामा छ, तिनीहरूको अवस्थालाई ध्यानमा राखेर हेपाटाइटिस ‘बी’ र ‘सी’लाई पनि कमजोर ठान्न नहुने उनको भनाइ छ । 

‘हेपाटाइटिस ‘बी’ बच्चैमा लागेको छ भने करिब ९५ प्रतिशत जति जनसंख्यामा पछि गएर क्रोनिक हेपाटाइटिस हुने सम्भावना छ । बच्चा बेलामा लागेको हेपाटाइटिस ‘बी’ एकदमै संवेदनशील हुन्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘यो पछि क्रोनिक हुने सम्भावना हुन्छ । बच्चा बेलामा हुने बेलाको हेपाटाइटिसलाई जसरी भए पनि नियन्त्रण गर्ने प्रयासमा लाग्नुपर्छ ।  हेपाटाइटिस ‘बी’को भ्याक्सिन छ । समयमा नै भ्याक्सिन दिन सक्यौँ भने हेपाटाइटिस ‘बी’बाट पूर्ण रूपमा मुक्ति पाउन सकिन्छ । त्यसकारण यो अति नै आवश्यक छ ।’

उनका अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’बीच तुलना गर्नुपर्दा हेपाटाइटिस ‘बी’को औषधिहरू पाइन्छ । तर, ‘सी’को सुई पाइँदैन । तर, उपचार सम्भव छ । तथापि, पूर्ण रूपमा निर्मूल नहुन सक्छ । उनले भने, ‘उपचार हुन्छ, तर त्यसको पूर्ण नियन्त्रणमा नआउन सक्छ । यसको औषधि भए पनि एकदमै महँगो हुन्छ । औषधि भएर मात्र के गर्ने ? जनताले त्यसलाई किनेर खान नसकेपछि ज्यान जोखिममा पर्नसक्छ ।’ त्यसकारण सरकारले यसको लागि केही व्यवस्था गर्ने हो भने जनतालाई राहत हुने उनको ठम्याइ छ ।

उनी भन्छन्, ‘नेपालीहरू हेपाटाइटिस भएपछि जडीबुटीको प्रयोग गर्ने गर्छन् । जन्डिस भनेर सामान्य मानेर आयुर्वेदिक औषधिको भर पर्छन् । आयुर्वेदिकमा भरपर्दा उपचार ढिला भइसक्ने र मृत्युको जोखिममा पुग्न सकिन्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनचेतना हो । जनचेतना फैलाउनैपर्छ । हेपाटाइटिस जडीबुटी खाएर मात्र निको हुँदैन । जडीबुटी सेवन गर्नेबित्तिकै जन्डिस निको हुने होइन । यसका लागि रगत जाँच गरेर वास्तविकता पत्ता लगाउनुपर्छ ।’

‘हेपाटाइटिसका लागि सरकारले राष्ट्रिय नीति बनेको सुन्नमा आएको छ, तर यसमा प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर मात्र नीति तयार गर्नुपर्छ । सबैखाले हेपाटाइटिसलाई सम्बोधन गर्नेगरी नीति बनाउनु जरुरी छ,’ डा. श्रेष्ठ भन्छन् ।’

हेपाटाइटिसका लागि खानपान मिलाएर मात्र खानुपर्छ । फ्याटी लिभर र रक्सीका कारण हुने लिभरको अन्तिम रूप सिरोसिस हुने भएकाले यसको उपचार एकदमै छिटो गर्नुपर्छ । हेपाटाइसिस भन्दैमा सामान्य रुपले हेर्दा विस्तारै जोखिम बढ्नसक्ने उनको भनाइ छ  । 

सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामीले हेपाटाइटिस लाग्न नदिनको लागि शारीरिक अभ्यास पनि गर्नुपर्ने उनी बताउँछन् । ‘यो नै बढी प्रभावकारी हुनसक्छ । दैनिक बानी व्यहोरामा परिवर्तन गर्नुपर्छ । साबुनपानीले हात धुने, उमालेर मात्र पानी पिउने, खानपानमा ध्यान दिने साथै शारीरिक अभ्यास गर्नेलगायत काम गर्नुपर्छ,’ डा. श्रेष्ठले भने ।

  • प्रकाशित मिति : साउन १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया