परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन् ।
जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन् । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा. राणालाई उनकैकार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए ।
उक्त भेटमा मन्त्री डा. राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् । इजरायलमा भएको आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा. राणाले दिएकी हुन् ।
मन्त्री डा. राणाले भनिन्, ‘उहाँको अवस्थाका बारेमा हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ । उहाँले सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरु हमासको समूहमा सुरक्षित रहेको जानकारी पाएको मलाई बताउनुभएको छ । जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागि पर्नुभएको छ । हामीले उहाँको रिहाइमा कुनै कसर बाँकी नराखी काम गरिरहेका छौँ । आशा छ, उहाँ नियन्त्रणबाट सकुशल मुक्त हुनुहुनेछ ।’
आफू परराष्ट्रमन्त्री भएदेखि बिपीनको रिहाइका लागि के गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरुलाई बिपीनको रिहाइका लागि आफ्ना ठाउँबाट आवश्यक सहयोग र पहल गरिदिन आग्रह गरेको जानकारी उनले दिइन् ।
यसअघि कतारका राष्ट्रपति नेपाल भ्रमणका क्रममा आएका बेला उनीसँग नेपाल सरकारले बिपीनको रिहाइका लागि पहलको आग्रह गरेको स्मरण गर्दै मन्त्री डा. राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आग्रह गर्ने जानकारी दिइन् । इजरायलमा गत अक्टोबरमा हमास समूहद्धारा भएको आक्रमणपश्चात् उनीहरुकै नियन्त्रणमा रहेका बिपीन जोशी हालसम्म सम्पर्कविहीन छन् ।
विपीनका परिवारले यस्तो आश्वासन पाएको पहिलोपटक होइन । इजरायलमा हमासको आक्रमणपछि नेपालमा तीनजना परराष्ट्रमन्त्री फेरिइसकेका छन् । आक्रमण भएकै बेला कांग्रेसका एनपी साउद परराष्ट्रमन्त्री थिए । उनले जोशीको रिहाइका लागि सक्दो प्रयास गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेपछि माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बने । उनले जोशीको रिहाइका लागि खासै पहल गरेनन् । जोशीका परिवारसँगको भेटमा भने आफूले प्रयास गरिरहेको बताएका थिए ।
अहिले कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि आरजु राणा परराष्ट्रमन्त्री छिन् । उनले पनि जोशी परिवारसँगको भेटमा आफूले सक्दो प्रयास गरिरहेको बताएकी छिन् । तर, कुनै पनि मन्त्रीले बोलेअनुसार परिणाम आइसकेको छैन । जोशी परिवार भने विपीनको रिहाइका लागि मन्त्री, प्रधानमन्त्रीदेखि विभिन्न राजदूतहरूलाई भेटिरहेका छन् ।
गत जेठको अन्तिम साता विपीन जोशीको घरैमा पुगेर इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि इजरायल सरकार लागिपरेको बताएका थिए । सो भेटमा राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेका थिए ।
त्यसबेला राजदूत गोडरले विपीनलाई इजरायली नागरिकसरह सम्झेर खोजी जारी राखेको बताएका थिए । ‘विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे,’ उनले भनेका थिए, ‘यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।