कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भए पनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानको गुनासो ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६/७७ मा १ सय ७८ हेक्टर, आव २०७७/७८ मा २ सय ४ हेक्टर, आव २०७८/७९ मा ३ सय हेक्टर, आव २०७९/८० मा तीन सय हेक्टर र आव २०८०/८१ मा २ सय ७० हेक्टर क्षेत्रफलमा कागतीखेती भएको बताए । आव २०७९/८० देखि जिल्लामा कागती खेतीको क्षेत्रफलमा कमी आउन थालेको छ ।
सूचना अधिकारी भण्डारीका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा १ हजार ४ सय ८ मेट्रिक टन कागती उत्पादन भएको छ । उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव ७५ मेट्रिक टन रहेको छ । ‘जिल्लाको माग धान्ने गरी उत्पादन हुने गरेको छ,’ उनले भने, ‘किसानहरू बिक्रीमा समस्या आएको बताउनुहुन्छ । बजारीकरणका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।’
सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । तत्कालीन कृषि विकास कार्यालयले तालिम, बिरुवा र मल दिने नीति ल्याएको थियो । पछि कृषि ज्ञान केन्द्रले कागतीमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ थप प्रोत्साहनका कार्यक्रम ल्यायो । कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समय किसान साना गाडी लिएर गाउँ–गाउँमा कागतीका पोका बेच्दै हिँड्न बाध्य छन् ।
पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ ६ करोड २७ लाख २० हजारको ८ सय ९६ मेट्रिक टन कागती भारतबाट भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । ‘चियाका बोट मासेर कागतीको व्यावसायिक खेती थालेको थिएँ,’ विर्तामोड–६ का कमलराज बिमलीले भने, ‘सुरु सुरुमा त राम्रो फल्यो र आम्दानी पनि राम्रै पाइयो । तर, पछिल्लो समय रोगले बोट मास्न थाल्यो । भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले स्थानीय उत्पादनको बजार खर्लप्पै खान थालेको छ ।’
कागतीको बोटमा टुप्पो सुक्ने प्रकोप देखापरेको उनले बताए । विगत एक वर्षमा कागतीका चार सय बोट सुकेर मरेको बिमलीको भनाइ छ । झापामा कम्तीमा ३ सय किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई पनि यस खेतीमा लगाएका छन् ।
झापामा सुन–१, सुन–२, मद्रासी, युरिका र एनपीआरपी–५५ जातको कागतीखेती हुँदै आएको छ । कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रूपमा प्रयोग गर्ने अचार र जुसलगायत ठूला उद्योगहरू स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन् ।
बुद्धशान्ति गाउँपालिका–२ का रामप्रसाद उप्रेतीले एक बिघा जमिनमा लगाएको कागतीले चार वर्षदेखि उत्पादन दिइरहेको छ । वार्षिक ५ लाखको कागती बेच्दा आधा रकम नाफा हुने उनले बताए । ‘आम्दानी नै नहुने खेती त होइन,’ उप्रेतीले भने, ‘धानखेतीको तुलनामा १० गुणा बढी आम्दानी हुँदोरहेछ । तर, अहिले बजार पाउन गाह्रो हुँदै गयो ।’ उनले कागती बारीमा सुपारीखेती गरेर थप आम्दानी लिए ।
दुईजनालाई बाह्रै महिना कामदारका रुपमा रोजगारी दिएका उनले बोटबाटै प्रतिगोटा ३ रुपैयाँमा व्यापारीले कागती किन्ने गरेको बताए । धान र अरू खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहजरूपमा बिक्री हुने वातावरण बन्ने हो भने फाइदैफाइदा हुने उनको अनुभव छ ।
सिजनअनुसार मल, सिँचाइ, गोडमेल र फल टिप्दा स्थानीयले थप रोजगारी प्राप्त गरेका छन् । मेचीनगर, बुद्धशान्ति, बिर्तामोड, अर्जुनधारा र गौरादह कागतीखेतीका लागि उर्वर पालिका बनेका छन् । कचनकबल–२ का जगदीश राजवंशीले बजार र प्रकोपबाट पीडित भएर कागतीखेती मास्न बाध्य भएको बताए । उनको खेतमा हजुरबुबाको पालादेखि कागतीखेती हुने गरेता पनि व्यावसायिकखेती भर्खर गरिएको थियो ।
‘दुई वर्षअघि ठूलो हावाहुरी र असिनाले क्षति पुर्याएपछि कागतीखेती मास्नु पर्यो,’ राजवंशीले भने, ‘किसानको क्षति हुँदा क्षतिपूर्ति दिने ठाउँ हुँदोरहेछ । मैले कागतीबाट राम्रै आम्दानी पाएको थिएँ ।’
जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच पाँच दशमलव ५ देखि ६ दशमलव पाँचसम्म भएको दोमट माटो कागतीखेतीका लागि सबैभन्दा उयपुक्त मानिन्छ । पछिल्लो समय कागतीका बोटमा डाँठ पहेँलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्नेलगायतका रोगले आक्रमण गरेको किसान रामप्रसाद उप्रेतीको गुनासो छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।