सन् २०११ मा ‘म त मरेँ’ बोलको गीतबाट नेपाली सांगितिक क्षेत्रमा डेब्यु गरे, कमल खत्रीले । तर, अलिक फराकिलो चर्चा पाउन उनको दोस्रो गीत आत्मामा रिलिज हुनपर्यो । त्यसपछि कमलको निकै चर्चा बढ्यो, कन्सर्टका अफर आए । केही साताअघिमात्र उनले ‘तिम्रो मायाले’ रिलिज गरेका छन् । पछिल्लो समय चर्चाकै केन्द्र वरपर रहेका कमलसँग फरक धारका कमल विष्टले गरेको कुराकानीको सम्पादित अंशः
‘आत्मामा’ रिलिज भएपछि अब कमल खत्रीले मार्केट खायो भन्नेहरु देखिए, तपाईंलाई पनि कार्यक्रममा जान भ्याइनभ्याइ हुन थाल्यो । तर, फेरि अहिले आएर कमल खत्री खासै ‘सिन’मा छैन भन्नेहरु बढेका छन् । बजार र स्रोताका कारण तपाईंले गीत कम गाउन थाल्नुभयो कि अरु कुनै कारण छ ?
यो सत्य हो, पछिल्लो समय मैले अलिक कम गीत गाउन थालेको छु । पहिलेको जस्तो मेरो मिडियामा चर्चा पनि घटेको छ, गीतहरु पनि कम बजेका होलान् । यसको अर्थ के होइन भने कमल खत्रीले बजार र स्रोता नै पाउन छाड्यो ।
अहिले पनि टुर, कन्सर्टहरुमा नै व्यस्त छु । मिडियामा कम आएको हुँला तर यसको अर्थ मैले काम गरेको नै छैन भन्ने होइन ।
आज पनि मैले हिजोकोजस्तै स्रोताहरुको माया पाइरहेको छु । र, संगीतमा निरन्तर लागिरहेको छु, मलाई माया गर्ने स्रोताहरु बढेको पनि पाइरहेको छु ।
तर, वास्तविकता वा सत्य के हो भने मैले पहिले जति गीत गाउँथे, अहिले त्यति गीत गाउँदिनँ । यो संख्याको कुरा भयो । यस्तो किन भयो भने अहिले म संगीतप्रति अझ सिरियस भएको छु । बरु चार÷पाँच महिनामा एउटा मात्र गीत गाऔँ, तर राम्रो गरौँ भन्ने भावना ममा विकास भएको चाहिँ हो ।
पछिल्लो पटक २०७५ सालमा रिलिज भएको मेरो गीत ‘जाउँला रेलैमा’बाट मात्र मैले ६ अवार्ड जितेँ । यो गीत युट्युबमा पनि ६० लाखभन्दा बढी हेरिएको छ । अनि पछिल्लो समय म सामाजिक मुद्दामा केन्द्रित गीत गाउन खोजिरहेको छु, गहन गीत । यसले पनि मेरा गीतको संख्या केही घटेको हो ।
अर्कोतिर, कमल खत्रीका प्रायः गीतको सुर र ताल, लय र संरचना एउटै हुन्छ भन्नेहरु पनि छन् नि ? हुन पनि तपाईंका अधिकांश गीत एउटै नोट बी माइनरबाट सुरु भएका छन् । के तपाईंले फरक टेस्ट दिन नसक्नु भएको हो ? आखिर किन तपाईंका अधिकांश गीतको थालनी उस्तै हुन्छ ?
हामीले बिर्सनु हुँदैन, संसारका सबै गीत आखिर सात सुरमा नै त आधारित हुन्छन् । अनि कहिलेकांही एउटा गायकले नचाहँदा नचाहँदै पनि मेलोडी मिल्छ, लय मिल्छ, शैली मिल्छ ।
अनि फेरि सबै गायकको आआफ्नो प्याटर्न हुन्छ, स्वाद हुन्छ र तरिका हुन्छ । अझ आफ्नै पहिचान र ब्रान्ड पनि हुन्छ । यसले गायकलाई छुट्टै पहिचानका साथ चिनाउँछ, चिन्न सहयोग गर्छ । मेरो हकमा भएको पनि यही हो, मलाई माइनर कर्डबाट सुरु भएका गीतहरु गाउन मन पर्छ । यसको पछाडि अरु कुनै कारण छैन, मेरो विश्वास नै प्रमुख कारण हो । माइनरबाट सुरु भएका गीतहरु अलिक सिरियस हुन्छन् भन्ने मेरो विश्वास छ, जसले स्रोतालाई फरक भाव मात्र नदिओस्, दीर्घकालीन प्रभाव पनि पारोस् ।
विश्वासका साथसाथै मलाई आफ्नो छुट्टै ब्रान्ड पनि बनाउनु छ । त्यही कुराले पनि मलाई गाइड गरेको हो ।
तर, यो सब हुँदाहुँदै पनि के चाहिँ होइन भने कमल खत्रीका सबै गीतको मेलोडी र ताल एउटै छ । मैले माइनरमा मात्र होइन, मेजर बिटबाट पनि गीतहरु गाएको छु, फरक प्याटर्नमा पनि गीत गाएको छु । हुन त मलाई ‘लभ सङ’बाट स्रोताहरुले चिन्ने भएकाले कतिपय मैले गाएका गीत एउटै हुन् कि भन्ने पनि परेको हुनसक्छ । तर, सबै गायक जस्तै मलाई पनि मेरा स्रोताहरुलाई फरक स्वाद, नयाँ गीत दिउँ भन्ने लागिरहेको हुन्छ, भर्सटायल हुन त म पनि खोजिरहेको हुन्छु नै !
तपाईंको आत्मामा निकै चल्यो । एउटा गीत चलेपछि अर्को गीत रिलिज गर्दा गायकलाई कत्तिको प्रेसर हुँदो रहेछ ?
प्रेसर हुँदो रहेछ, र मलाई यो हरेक कलाकारलाई हुन्छ होला भन्ने लाग्छ । मलाई पनि त्यो दबाब महसुस भएकै हो, अहिले पनि हुन्छ । ‘आत्मामा’, ‘कोरेर प्रेम पत्र’, ‘जाउँला रेलैमा’ गीतहरुलाई स्रोताहरुले मन पराइदिनु भयो, माया गरिदिनु भयो । अब त्यस्तै गीत गर्न सक्छु कि सक्दिनँ, अझ राम्रो गर्न सक्छु कि सक्दिनँ भन्ने अन्योल मनमा हुन्छ, प्रेसर महसुस हुँदो रहेछ । पहिले मलाई लाग्थ्यो, आफ्ना गीतहरु स्रोताहरुले मन पराइदिउन्, गीतहरु चुनिदिउन् । तर, अहिले मेरो बुझाइ र दृष्टिकोण फरक भएको छ । गीत चल्नु, मन पराइदिनु तथा समाजका लागि गीत बन्नु फरक कुरा रहेछन् । अब त म चाहन्छु, मेरा गीत स्रोताहरुले मन पराउनुका साथसाथै समाजका लागि योगदान दिने पनि होउन् ।
गीतले खासमा सामाजिक मुद्दा बोक्ने कि मनोरन्जनका लागि हो ?
एउटा संगीतकार वा गायकले काम गर्ने भनेको यो समाजका लागि हो । समाजका सदस्यहरुका लागि हो । यदि गीत समाजका लागि नै बनाइन्छ भने त्यसमा समाजका मुद्दाहरु नै प्राथमिकताका साथ आउँछन् । त्यति हुँदाहुँदै पनि समाजले गीतबाट केही हदसम्म रिलिफ फिल गर्न सक्छ, मनोरन्जनका रुपमा गीतलाई प्रस्तुत गर्न पनि सकिन्छ ।
अब मेरो हकमा भन्ने हो भने ‘जाउँला रेलैमा’ बन्नु पछिल्लो समयमा मेरो विचारमा आएको परिष्कारको उपज हो । यो गीतमा मैले जातीय विभेदको मुद्दालाई उठाएको छु । हेर्नुस्, अहिले पनि हाम्रो समाजमा जातकै कारण केही सम्बन्धहरु टुटेका छन्, हाम्रो समाज अहिले पनि तल्लो र माथिल्लो जात भन्दै वर्गीकरण गरिरहेको हुन्छ । र, योसँगसँगै अहिले हामीजस्ता कलाकारले समाजका अन्य विशेष मुद्दालाई पनि आफ्नो सिर्जनामा उतार्नु पर्छ ।
तपाईंले गाउनु भएको ‘जाउँला रेलैमा’ गीतका शब्द पनि तपाईंकै हुन् । ती शब्दले व्यक्त गरेको भावना पनि तपाईंको आफ्नै जीवनको वास्तविकता त होइन ?
केही हदसम्म हो । म स्कुल पढ्दाको कुरा हो । म त्यति बेला प्रेममा थिएँ । तर, यो समाजलाई हाम्रो प्रेम स्वीकार्य भएन । किनकि म जोसँग प्रेममा थिएँ, हामी दुईको जात मिल्दैनथ्यो । त्यो मेरो पहिलो प्रेम थियो । तर, जात नमिलेकाले हामीले छुट्टिनु पर्ने बाध्यता आइलाग्यो ।
मेरो मनमा यो पीडा छँदै थियो, मैले पछिल्लो समय समाचारहरुमा पनि यस्ता घटना दोहोरिएको सुनिरहेको थिएँ । हुनसक्छ, मनभित्रको यो पीडालाई पछिल्लो समय आइरहेका समाचारहरुले थप हल्लायो र मैले जाउँला रेलैमा लेखेँ ।
तर, के चाहिँ सत्य हो भने यो मेरोमात्र भोगाइ होइन, मजस्ता धेरै नेपाली युवाहरुको दुर्भाग्य हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।