logo-img

प्रभु बैंकमा राखिएको एक कराेडभन्दा बढी बचत रकम कसरी भयो गायब ?
बैंककै कर्मचारीले बदमासी गरेको हुनसक्ने शाखा प्रबन्धककाे दाबी

प्रभु बैंकले आफ्नो बचतको करोडौँ रकम गायव पारेको भन्दै एक बचतकर्ताले जिल्ला प्रहरी कार्यालय झापामा निवेदन दिएका छन् । बिर्तामोडनिवासी मञ्जुकुमारी नेपालले प्रभु बैंकमा बचत गरेको करोडभन्दा बढी रकम गायब भएको भन्दै उनका श्रीमान् टीकाराम नेतीले प्रहरी गुहारेका हुन् । 

नेपालले गत माघ ३ गते प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ६ महिनाका लागि मुद्दती खातामा जम्मा गरेकी थिइन् । मुद्दती खातामा रकम राखेर नेपाल दम्पती छोरा–बुहारी भेट्न अमेरिका गए । करिब तीन महिना अमेरिका बसेर हालसालै उनीहरू स्वदेश फर्किए । बचत गरेको प्रमाण लिएर मञ्जु रकम निकाल्नका लागि बैंकमा गइन् । तर, उनको बैंक खातामा दुई लाख रुपैयाँ मात्र बचत रकम रहेको पाइएको उनको दाबी छ । 

६ महिनाका लागि राखेको रकमको समयावधि सकिएपछि मंगलबार नेपाल पैसा झिक्न बैंक पुगेकी थिइन् । बैंकका कर्मचारीले जब सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गरे, तब ६ महिनाअघि राखिएको रकम गायब थियो ।

‘पैसा लिन जाँदा सबै पैसा गायब थियो, पीडित मञ्जुका श्रीमान् पत्रकारसमेत रहेका टीकाराम नेतीले भने,‘किन र कसरी त्यत्रो रकम गायब भयो ? यसको जवाफदेही बैंक हुनुपर्छ ।’ नेपालले बैंकमा रकम छ भनेर ढुक्क भएर नबस्न अरूलाई पनि सुझाब दिएका छन् ।



बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ । सिटौला बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । बैंकका कर्मचारीकै मिलेमतोमा सिटौलाले रकम गायब पारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् ।



नेपालको मात्र होइन, बिर्तामोडका व्यवसायी प्रवीण अग्रवालले पनि आफ्नो बचत रकम त्यसरी नै गायब पारिएको दाबी गरेका छन् । आफ्ना छोराको नाममा खाता खोलेर बचत गरेको रकम बैंकले गायब पारेको अग्रवालको आरोप छ । 

‘मेरा दुईवटा छोराको नाममा एक लाख ३ हजारका दरले बिर्तामोडमा शाखा रहेको प्रभु बैंकमा मुद्दती खाता खोलेर बचत गरेको थिए, अग्रवालले भने,‘पछि बैंक आएर हेर्दा दुईवटै खातामा दुई सय भन्दा कम मौज्दात रहेको देखियो ।’ उनले २ लाख ६ हजार बचत गरेको भौचर आफूसँग सुरक्षित रहेको भन्दै रकम फिर्ताका लागि बैंकमा निवेदन दिएको बताए ।

बैंकका बिर्तामोड शाखा प्रबन्धक गणेश बरालले घटनापछि बैंकको केन्द्रीय छानबिन टोली बिर्तामोड आउँदै गरेको जानकारी दिए । उनले छानबिनपछि यथार्थ थाहा हुने भन्दै उनले बचतकर्ताको रकम हराउन नहुने धारणा राखे । उनले बैंकका कर्मचारी सिटौलाले बदमासी गरेको हुनसक्ने आशंका गरे । छानबिन समितिले बिहीबारदेखि नै काम सुरु गर्ने उनले बताए । 

  • प्रकाशित मिति : साउन १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया