अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्मा परी आजसम्म एक सय ४८ जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा तीनजना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छजना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठजना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा एक सय ४८ जनाको मृत्यु भएको हो ।
उनका अनुसार काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा एक सय ७६ जना घाइते भएका छन् ।
बाढीपहिराका कारण काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँचजना गरी जम्मा एक सय आठजनाको उद्धार गरिएको छ ।
साथै कोशी प्रदेशमा दुईजना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुईजना र कर्णाली प्रदेशमा एकजना गरी ४७ जना बेपत्ता भएका र बेपत्ताको खोजी जारी रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।
बाढीको कारण जम्मा तीन सय ८३ घर डुबानमा परेका छन् । जसअन्तर्गत दुई सय ५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, दुईवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बाढीपहिरामा परी आजसम्म सात सय १५ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार एक सय १२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।