logo-img

गर्मीजन्य समस्याका कारण युरोपमा बर्सेनि १ लाख ७५ हजारको मृत्यु : डब्लुएचओ

विश्वका अन्य देशको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी १ लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ ।

डब्लुएचओले सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका ४ लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा ३६ प्रतिशत अर्थात् औसतमा १ लाख ७६ हजार ४० जनाको मृत्यु हुने गरेको जनाएको छ ।

स्वास्थ्य निकायका अनुसार यस क्षेत्रको तापक्रम विश्वको औसत दरभन्दा झन्डै दोब्बरले बढिरहेको छ । डब्लूएचओको युरोपेली क्षेत्रमा ५३ देशहरू छन्, जसमा मध्य एसियाका केही देशहरू पनि समावेश छन् ।

डब्लुएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुजले भने, ‘मानिसहरूले अन्तिम मूल्य चुकाइरहेका छन् ।’ डब्लुएचओका अनुसार विगत दुई दशकमा यस क्षेत्रमा गर्मीका कारण हुने मृत्युदरमा ३० प्रतिशतले वृद्धि भएको छ ।

‘तापक्रमको चरम सीमाले मुटु, श्वासप्रश्वास, ‘सेरेब्रो–भास्कुलर डिजिज’, मानसिक स्वास्थ्य र मधुमेहसँग सम्बन्धित रोगलगायत दीर्घकालीन अवस्थालाई बढाउँछ,’ क्लुजले भने । 

अत्यधिक गर्मी विशेष गरी वृद्धवृद्धाका लागि समस्या र गर्भवती महिलाका लागि ‘अतिरिक्त बोझ’ हुन सक्ने उनले बताए । डब्लुएचओका अनुसार मानव शरीरले आफ्नो तापक्रम कायम राख्न नसकेपछि उत्पन्न हुने ‘गर्मीको तनाव’ यस क्षेत्रमा जलवायुसम्बन्धी मृत्युको प्रमुख कारण हो ।



विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी वर्षहरूमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्ने डब्लुएचआले जनाएको छ ।  

गत २५ जुलाईमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मानव जाति ‘अत्यधिक गर्मीको महामारी’बाट पीडित भएको चेतावनी दिँदै जलवायु परिवर्तनका कारण उत्पन्न गर्मीको लहरको प्रभावलाई सीमित गर्न कदम चाल्न आह्वान गरेका थिए । 



  • प्रकाशित मिति : साउन १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया