नेपाली क्रिकेटको ‘ग्लोबल आइकन’ को परिचय बनाएका लेगस्पिनर तथा पूर्वकप्तान सन्दीप लामिछानेले बिरलै खराब प्रदर्शन गरेको देख्न पाइन्छ ।
विगतमा नेपालका लागि खेल्दा होस् वा व्यावसायिक लिग सबै ठाउँमा उनले उच्चस्तरको प्रदर्शन गरे । तर, क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टी–२० मा भने सन्दीपले अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् ।
भ्यानकुभर नाइट्सबाट लिग खेलिरहेका उनले चार म्याच खेल्दा सन्तोषजनक प्रदर्शन गर्न नसकेका हुन् । सन्दीपले यसपटक चार खेलमा कुल १५ ओभर बलिङ गरेका छन्, जसमा उनले ८.२६ को खराब इकोनमीमा ५ विकेट मात्र लिएका छन् ।
सन्दीपले यति महँगो इकोनमीमा बलिङ गरेको कमै देख्न पाइन्छ । उनले लिगको पहिलो खेलमा ४ ओभरमा २९ रन खर्चंदै एक विकेट लिए । दोस्रो खेलमा सन्दीपले ४ ओभरमा ३२ रन दिएर दुई विकेट हात पारे । तेस्रो म्याचमा उनले इकोनमीमा केही सधार गरे । उक्त खेलमा सन्दीपले ४ ओभरमा २४ रन दिएर एक विकेट लिए ।
चौथो म्याचमा पनि उनले विकेट हात पारे । तर, यस खेलमा सन्दीप महँगो साबित भए । बिहीबार बिहान सम्पन्न ब्राम्पटन वुल्भ्सविरुद्धको उक्त म्याचमा उनले तीन ओभरमा ३९ रन खर्चेर एक विकेट लिए । विपक्षी बलर सन्दीपमाथि हाबी भएको प्रायः देखिँदैन । तर, जारी ग्लोबल टी–२० मा भने उनीमाथि ब्याटर खुलेर खेलिरहेका छन् ।
किन चलेन सन्दीपको जादु ?
जारी लिगमा उनले राम्रो प्रदर्शन गर्न नसक्नुमा मुख्य तीनवटा कारण देखिन्छन् । ती हुन्, लामो समयपछि मैदानमा फर्किनु, विपक्षी टिमको राम्रो निगरानी र असन्तुलित टिम ।
लिगमा प्रतिस्पर्धा गर्न क्यानडा जानुअघि सन्दीपले नवौँ संस्करणको टी–२० विश्वकपको दुई म्याच खेलेका थिए । त्यसअघि काठमाडौं जिल्ला अदालतले बलात्कारको मुद्दामा दोषी ठहर उनले ६ महिनाको अवधिमा कुनै पनि म्याच खेल्न पाएनन् । तर, गत जेठमा उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दियो ।
उच्च अदालतबाट क्लिन चिट पाएपछि उनी विश्वकप टिममा समावेश भए । अमेरिकाले भिसा नदिँदा सुरुवाती दुई खेल गुमाए पनि सन्दीपले वेस्ट इण्डिजमा भएको दुईवटा म्याच भने खेल्न पाए । विश्वकपका लागि वेस्ट इण्डिज जानुअघि उनले कीर्तिपुरस्थित टियू ग्राउन्डमा केही दिन मात्र अभ्यास गरेका थिए । त्यसका बाबजुद सन्दीपले विश्वकपमा राम्रो प्रदर्शन गरे ।
उनले दक्षिण अफ्रिकाविरुद्ध ४ ओभरमा १८ रन मात्र खर्चिए । सन्दीपको किफायती बलिङका कारण पनि नेपालले दक्षिण अफ्रिकालाई १ सय १५ रनमै रोक्यो । दोस्रो खेलमा उनले बंगलादेशविरुद्ध ४ ओभरमा एक मेडनसहित १७ रन खर्चेर दुई विकेट हात पारे ।
सन्दीपले उक्त लय ग्लोबल टी–२० मा भने कायम राख्न सकेनन् । लिगअघि पर्याप्त अभ्यास नपाउँदा पनि उनले क्षमताअनुसार प्रदर्शन गर्न नसकेको देखिन्छ ।
यस्तै, जारी ग्लोबल टी–२० मा सन्दीपले अपेक्षाअनुसार बलिङ गर्न नसक्नुको अर्को कारण हो, विपक्षी टिमको राम्रो निगरानी । उनी भ्यानकुभरका प्रमुख स्पिनर हुन् । सन्दीपविरुद्ध खेल्दा विपक्षी टिमले उनको कमजोर र बलियो पक्षमा राम्रो अध्ययन गर्ने गरेका छन् ।
पछिल्लो खेलहरू हेर्दा ब्याटरले उनीमाथि सोही रणनीति अपनाएको देखिन्छ । प्रायः स्टार सन्दीपको बलिङ शैलीबारे जानकार छन्, त्यसकारण पनि उनी जारी लिगमा घातक बलिङ गर्न असफल भइरहेका छन् ।
यसपालि ग्लोबल टी–२० मा सन्दीप चम्किन नसक्नुको अर्को कारण हो, टिमको खराब लय । उनीसम्मिलित भ्यानकुभरले चार म्याच खेल्दा जितको खाता खोल्न सकेको छैन । चारमध्ये तीन खेलमा भ्यानकुभर खराब ब्याटिङकै कारण पराजित भयो ।
ब्याटिङबाट ठूलो लक्ष्य नदिँदा बलरलाई घाटा हुन्छ । त्यसको फाइदा विपक्षी ब्याटरले उठाउने गर्दछन् । यस्तो अवस्थामा बलर महँगो साबित हुने सम्भावना बलियो रहन्छ ।
जारी लिगको पहिलो खेलमा पनि यस्तै भयो । उक्त म्याचमा भ्यानकुभर १ सय १० रनमै रोकियो । सो खेल उसले ८ विकेटले गुमायो ।
३० विकेट पूरा गर्न एक कदम टाढा
सन्दीप ग्लोबल टी–२० इतिहासमा सर्वाधिक विकेट लिने सूचीमा शीर्ष स्थानमा छन् । उनले यस लिगमा हालसम्म २१ म्याच खेलेका छन्, जसमा सन्दीपले ७.२३ को इकोनमीमा २९ विकेट लिएका छन् । उनले यो उपलब्धि विभिन्न चार टिमबाट खेलेर हासिल गरेका हुन् ।
सन्दीपले सन् २०१८ मा मोन्ट्रियल टाइगर्सबाट खेल्दै पाँच खेलमा ८ विकेट लिए । यस्तै, सन् २०१९ मा टोरन्टो नेसनल्सबाट खेलेका उनले ४ खेलमा ५ विकेट हात पारे । सन्दीपले सन् २०२३ मा सर्रे जग्वार्सबाट खेल्दै ८ खेलमा ११ विकेट लिए ।
जारी सिजनमा सन्दीपले भ्यानकुभरबाट खेल्दै ४ खेलमा ५ विकेट लिएका छन् । आउँदो खेलमा एक ब्याटरलाई आउट गरेलगत्तै उनी ग्लोबल टी–२० मा ३० विकेटको आँकडा पूरा गर्ने पहिलो बलर बन्ने छन् ।
सन्दीप र दीपेन्द्र सिंह ऐरीआबद्ध भ्यानकुभरले पाँचौं खेलमा शनिबार बिहान १ः४५ मा सर्रे जग्वार्ससँग खेल्ने तालिका छ । यस्तै, अर्का नेपाली क्रिकेटर रोहितकुमार पौडेलसम्मिलित टोरन्टोले शुक्रबार राति मोन्ट्रियल टाइगर्सको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।