logo-img

काभा महिला भलिबल : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र  भारत भिड्दैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन् ।  यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । 

लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ । नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो ।  लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो । 

जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ। यसअघिका भेटमा नेपालमाथि भारतीय टोली हाबी हुँदै आएको छ । सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो ।  त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । तर पनि नेपाल सागमा भारतसँग पराजित भएको थियो । 

त्यस्तै, आज हुने दोस्रो खेलमा इरान र मालदिभ्स खेल्नेछन् ।  सोही कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुने तालिका छ । 





  • प्रकाशित मिति : साउन १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया