किताबयात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताबजात्रा’ शनिबार सकिँदै छ । ‘किताबजात्रा’को छैटौँ संस्करण सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शुक्रबारदेखि सुरु भएको थियो ।
जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायत क्षेत्रका समसामयिक विमर्श सञ्चालन भएको छ । उक्त पुस्तकमेलामा पुस्तक स्टल राखेर बसेका लेखक मनिश्री धितालले प्रविधिको समयमा पनि किताब पढ्ने धेरै मानिस रहेको बताए ।
उनले भने, ‘अहिले प्रविधिको समयमा यस्तो किताबहरूको केही अर्थ होला कि नहोला भन्ने पनि छ । तर, हाम्रो पुस्ता अझै पनि किताबहरूमा व्यस्त हुन सक्छ ।’
यस्तै, पुस्तक किन्न आउने अशोककुमार पाठकले पनि पुस्तक पढ्नुको अनुभव छुट्टै भएको भन्दै पुस्तक पढ्दा समाजमा गहिरो अध्ययन, चिन्तन, कल्पना गर्नेसंस्कृतिको विकास हुने बताए ।
उनले भने, ‘किताब पढ्ने संस्कृति घटेको छैन । साहित्यका चलनचल्तीका किताब पनि पढ्ने गरेका छन् । पुस्तक पढ्नुको अनुभव छुट्टै हुन्छ । समाजमा गहिरो अध्ययन, चिन्तन, कल्पना गर्ने र अन्तरक्रिया गर्ने संस्कृति बसायो भने लोकतन्त्र र सबैको विचारलाई सम्मान गर्न सक्छौँ ।’
किताबजात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिएको छ ।
सर्लाहीका शिक्षासेवी स्व.प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ । गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।