खेलकुदमा नेपालले भारतलाई हराएको बिरलै देख्न पाइन्छ । अभावको चाङबीच खेल्ने नेपाली टिमले भारतलाई हराउनु एउटा ठूलो सपना पूरा गर्नुजस्तै हो ।
वर्षौंदेखिको नेपालको एउटा सपना शनिबार पूरा भयो । यो सपना नेपाली महिला भलिबल टिमले पूरा गरेको हो । दशरथ रंगशालाको कभर्डहलमा जारी काभा महिला नेसन्स लिगमा नेपालले भारतलाई ३–२ सेटले हराएर इतिहास रच्यो ।
भलिबल इतिहासमा भारतविरुद्ध नेपालको यो पहिलो जित हो । यसअघि नेपालले भारतलाई कडा टक्कर दिने गरेको भए पनि जित हात पार्न सकेको थिएन । सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुदको फाइनलमा भारतविरुद्ध पराजित हुँदा आयोजक नेपाल स्वर्णपदक जित्न चुक्यो । यस्तै, नेपाल गत वर्षको काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग पराजित भयो ।
यसपालि भने नेपालले त्यो नतिजामा सुधार गर्यो । नेपाली दर्शकले खचाखच भरिएको कभर्डहलमा नेपाल पहिलो सेटमै भारतविरुद्ध हाबी भयो । उक्त सेट नेपालले २५–१८ ले आफ्नो पक्षमा पार्यो ।
दोस्रो सेटमा भने नेपालले सन्तोषजनक प्रदर्शन गर्न सकेन । उक्त सेट नेपालले १२–२५ ले गुमायो । तेस्रो सेटमा भने नेपालले सानदार कमब्याक गर्यो । उक्त सेट आयोजक टिमले २५–१७ ले आफ्नो पक्षमा पार्यो । चौथो सेट १८–२५ ले गुमाएको नेपालले निर्णायक तथा पाँचौं सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै भारतविरुद्ध ऐतिहासिक जित निकाल्यो ।
भलिबलमा नेपालले हासिल गरेको यो ऐतिहासिक उपलब्धिपछि सरकार र सम्बन्धित संघसंस्थामाथि नैतिक प्रश्न उठिरहेका छन् । राष्ट्रिय खेलसमेत रहेका भलिबलका खेलाडीको पारिश्रमिक सुन्दा अचम्म लाग्न सक्छ ।
हाल महिला र पुरुष टिमका समान १२ खेलाडीले मासिक ५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन्, त्यो पनि चन्दा उठाएर । साथै, भलिबल खेलाडीका लागि छुट्टै कभर्ड हल छैन । उनीहरू कहिले राखेप त कहिले आर्मीको कभर्ड हल प्रयोग गर्दै आएका छन् ।
न्यून पारिश्रमिक र पर्याप्त पूर्वाधार नहुँदा पनि भलिबल खेलाडीले देशका लागि उपलब्धि दिलाउन कुनै कसर बाँकी राखिरहेका छैनन् । हालसम्म महिला भलिबल टिमले नेपाललाई सागमा रजत, एभिसी एसियन सेन्ट्रल जोनमा दुईपटक स्वर्ण दिलाइसकेको छ । पुरुष टोलीले भने यो उपलब्धि हात पार्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।