प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले र कांग्रेसको समीकरणमा बनेको सरकारले कुनै स्टन्टबाजीको रूपमा काम नगर्ने बताएका छन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहणमा उनले लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने र कुनै अन्योल वा भ्रम पैदा गरी झुक्याउने खेलमा पनि नलाग्ने बताए ।
उनले भने,‘अहिलेको समीकरण संविधान संशोधनका लागि हो । संविधान अतिक्रमणका मुद्दा बोकेर हिडेका पार्टीहरू जस्तो होइन । लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन । त्यसकारण लोकतन्त्रका लागि कुनै भुलभुलैया वा अफवाहको भरमा या कुनै अन्यौलग्रस्त भएर अथवा पपुलिष्ट हुनका लागि स्टन्टबाजीको रूपमा विचार पनि प्रस्तुत पनि गर्दैन । कुनै अन्योल र भ्रम पनि चाल्दैन । स्टन्टबाजी पनि गर्दैन, कसैलाई झुक्याउने खेल पनि खेल्दैन ।’
उनले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने समेत बताए । गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताएका हुन् । उनले भने, ‘पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो सकिएन, अब गुटबन्दी स्वीकार्य छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।