सरकारले नेपाल विद्युत् प्राधिकरणका दुईजना सञ्चालकलाई पदमुक्त गरेको छ। सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाइएको ऊर्जा मन्त्रालयकी सहसचिव इन्दिरा दाहालले जानकारी गराएकी छिन् ।
डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल बक्यौता विवादमा प्राधिकरणले पछिल्लोपटक बिजुली काटिदिएका उद्योगमा पुनः लाइन जोड्नेबारे सञ्चालक समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेपछि मन्त्रालयले सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्राधिकरण बोर्ड बैठकले तत्काललाई विद्युत् जडान गर्ने निर्णय गरिसकेको छ।
उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदमुक्त गरिएको पत्रमा उल्लेख छ। सञ्चालक समितिमा पुन उपभोक्ता समूहबाट र आचार्य जलविद्युत् क्षेत्रबाट सदस्य रहेका थिए । प्राधिकरणको सञ्चालक ऊर्जा मन्त्रालयले नियुक्त गर्छ।
विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ। त्यसको २५ प्रतिशत जरिवाना जोडेर प्राधिकरणले उद्योगमा बिल पठाएको थियो। उद्योगले प्रमाण नभएको भन्दै तिर्न नमानेपछि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटिदिएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।