logo-img

भोटो देखाइयो, रथ यात्रा सकियो [तस्बिरहरू]

काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ । आइतबार मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका हुन् । 

भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतको उपस्थिति थियो । भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथ यात्रा समापन भएको छ ।

भोटो जात्रामा प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, सभामुखलगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो देखाइने कार्यक्रम तय हुने गरेको छ । भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा समापन हुने परम्परा छ ।

करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेती किसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरूमा परिक्रमा गराइन्छ ।

विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रूपमा हिन्दु तथा बौद्ध धर्मावलम्बी मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुवात गराएको मानिन्छ ।





 

  • प्रकाशित मिति : साउन २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया