शुक्रबार सार्वजनिक गरिएको नतिजाअनुसार कक्षा १२ मा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका छन् । करिब ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरू आगामी अध्ययनको यात्रा कतातिर मोड्ने भनेर सोचिरहेको अवस्था छ ।
विद्यार्थीहरूले थप अध्ययनका लागि विभिन्न विधा छनोट गरिरहेका छन् । जसमध्ये सबैभन्दा लोकप्रिय विधामा चिकित्सा शिक्षा अध्ययन पर्छ । यसभित्र पनि विभिन्न संकाय छन् । ती विभिन्न विधामध्ये प्रवीणता प्रमाण पत्र तह (पिसिएल) नर्सिङतर्फ पनि धेरैको आकर्षण देखिन्छ ।
भारतलगायत अन्य देशमा कक्षा १२ पढेपछि मात्रै नर्सिङ पढ्न पाइने व्यवस्था छ । नेपालमा भने एसएलसी/एसइई उत्तीर्ण भएपछि नै नर्सिङको प्रमाण पत्र तह पढाउने नियम छ । तर, नेपालले पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नर्सिङ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेसँगै विद्यार्थीले यसतर्फ चासो दिन थालेका छन् । सोही विषयलाई ध्यानमा राखेर कक्षा १२ पास भएपछि मात्रै प्रवीणता प्रमाण पत्र तह (पिसिएल) नर्सिङ पढाउने विषयमा गृहकार्य थालिएको छ ।
अन्तर्राष्ट्रिय प्रचलनअनुसार बनाउन नेपालमा पनि कक्षा १२ पछि मात्रै नर्सिङ पढ्ने व्यवस्था लागू गर्ने तयारी चिकित्सा शिक्षा आयोगले गरिरहेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा यसबारे जानकारी गराएका थिए ।
के हुँदै छ, तयारी ?
कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ विषय पढाइ गर्ने विषयमा गृहकार्य भइरहेको चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । उनका अनुसार १२ कक्षासम्मलाई विद्यालय शिक्षा मानिएकाले विद्यालय शिक्षापछि मात्रै प्राविधिक शिक्षामा आउने व्यवस्था गर्न लागिएको छ । आयोगले कक्षा १२ पछि पिसिएल नर्सिङ पढाउने विषयमा कार्यविधि, मापदण्ड बनाउन गृहकार्य गरिरहेको उनले बताए ।
यसबारे अध्ययन गर्न गतवर्ष नै आयोगमा कार्यदल बनेको थियो । उक्त कार्यदलले प्रतिवेदन तयार पारेर गत चैत ९ गतेको आयोगको बैठकमा पेस गरेको थियो । उक्त प्रतिवेदनअनुसार कार्यविधि, मापदण्ड बनाउन आयोगमा कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले यसका लागि गृहकार्य गरिरहेको सदस्यसचिव काप्रीले बताए । कार्यविधि, मापदण्ड बनाएर आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)लाई दिने उनको भनाइ छ ।
कसले पढाउन पाउँछन्, पिसिएल नर्सिङ ?
आयोगका अनुसार कक्षा १२ पछिको पिसिएल नर्सिङ पनि सिटिइभिटीबाट सम्बन्धन लिएका कलेजले नै पढाउनेछन् । अहिले एसइईपछि पढाइ हुने पिसिएल नर्सिङ कार्यक्रमलाई पनि यथावत् राखिनेछ । यसलाई बिस्तारै फेजआउट गर्दै लैजाने योजना बनाइएको छ ।
जुनसुकै विषयमा कक्षा १२ पास गरेकाले पनि पिसिएल नर्सिङ अध्ययनका लागि प्रवेश परीक्षा दिन पाउनेछन् । १२ कक्षा पास गरेपछि फेरि त्यही तह पढ्ने किन आउने त ? भन्ने प्रश्नमा काप्री भन्छन्, ‘नर्सिङको पढाइलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन १२ कक्षापछि मात्रै नर्सिङ पढ्ने व्यवस्था लागू गर्नुको विकल्प छैन । संसारले अपनाएको बाटोमा कुनै न कुनै दिन त जानै पर्छ । हामी पनि बिस्तारै त्यही लय समात्ने तरखरमा छौ ।’ यसो हुँदा एसइई सकेको भर्खर १४–१५ वर्षको व्यक्तिले नभई परिपक्व व्यक्तिले नर्सिङ पढ्ने र यसले गुणस्तर कायम हुने विश्वास गरिएको उनको भनाइ छ । कक्षा १२ मा विज्ञान विषयमा बायोलोजी लिएर पढेका विद्यार्थीले भने अहिलेजस्तै सीधै बिएस्सी नर्सिङ पढ्न पाउनेछन् ।
कहिलेदेखि सुरु हुन्छ पिसिएल नर्सिङ कार्यक्रम ?
अहिले कार्यविधि मापदण्ड बनाउन गृहकार्य भइरहेको आयोगका सदस्यसचिव काप्रीले जनाए । यसमा कोर्स बनाउनेलगायत धेरै विषय रहेकाले यही समयदेखि लागू हुन्छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था नहरेको पनि उनले जिकिर गरे । यसका साथै एसइईपछि सीधै पिसिएल नर्सिङ पढ्न पाउने कार्यक्रमलाई पनि कहिलेबाट फेजआउट गर्ने भन्ने कुनै योजना बनिनसकेको उनको भनाइ छ ।
तीन वर्षअघिसम्म नेपालका मेडिकल कलेजहरूमा प्रवीणता प्रमाणपत्र तह (पिसिएल)को नर्सिङ कार्यक्रम सञ्चालनमा थिए । मेडिकल कलेजले पिसिएलसहित त्योभन्दा माथिल्लो तह स्नातक र स्नातकोत्तर तहमा समेत नर्सिङ कार्यक्रममा अध्यापन गराउँदै आएका थिए ।
तर, २०७८ मंसिरदेखि भने मेडिकल कलेजहरूले पिसिएल तहमा नर्सिङ कार्यक्रम सञ्चालन गरेका छैनन् । चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार पिसिएल तहको कार्यक्रम सञ्चालन गर्न नपाएका हुन् । आयोगले चिकित्सा शिक्षा ऐनको दफा ४२ अनुसार पिसिएल कार्यक्रम सञ्चालनमा रोक लगाएको थियो । तर, मेडिकल कलेज सञ्चालकहरू भने ऐनको उक्त दफाले मेडिकल कलेजहरूलाई पिसिएल कार्यक्रम सञ्चालनमा रोक नलगाएको बताउँदै आइरहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।