सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलो हार बेहोरेको छ । यसअघि श्रीलंका र भारतलाई पराजित गरेको नेपाल इरानसँग पराजित भएको हो ।
इरानले नेपाललाई ३–२ ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा इरानविरुद्धको खेलमा नेपाल पहिलो सेटमा इरानसँग १६–२५ ले पराजित भयो । उक्त सेटमा इरानले १६–१० को अग्रता बनाएपछि नेपाल खेलमा फर्कन सकेन ।
दोस्रो सेटमा भने नेपालले सुरुआतमा ७–० को अग्रता बनाएको थियो । सोही अग्रतालाई जोगाउँदै नेपालले इरानमाथि २५–१६ ले जितेपछि खेललाई एक–एकको बराबरीमा आयो ।
खेलको तेस्रो सेटको सुरुआतमा नेपालले ७–२ को अग्रता बनायो । इरानले ९–९ को बराबरीमा पुर्याएपछि यो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्त्यमा इरानले २५–२३ ले जित्यो ।
खेलको चौथो सेटमा नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दै खेललाई दुई–दुईको बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक पाँचौँ सेटमा भने नेपाल पराजित भयो ।
इरानले पाँचौँ सेट १५–१३ ले जित्यो । जितसँगै इरानले ४ खेलबाट सात अंक बनाएको छ भने नेपालको तीन खेलबाट छ अंक बनाउँदै सेमिफाइनलमा पुगिसकेको छ ।
नेपालसँगै इरान, भारत र श्रीलंका पनि सेमिफाइनलमा पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।