नेपाली चलचित्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । उनी निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् ।
आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् ।
सहमतिको जानकारी दिँदै उनले लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’ पछिल्लोपटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने फिल्ममा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।
आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माण पक्षको भनाइ छ ।
निर्देशक दिवाकरले फिल्मको कथावस्तु मनपराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।