नेपाली क्रिकेटरद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीसम्मिलित भ्यानकुभर नाइट्स क्यानडामा जारी चौथो सिजनको ग्लोबल टी–२० लिगबाट बाहिरिएको छ । सोमबार बिहान सम्पन्न मोन्ट्रियल टाइगर्ससँगको म्याच खेलेसँगै ऊ प्रतियोगिताबाट बाहिरिएको हो ।
सन् २०१८ को ग्लोबल टी–२० विजेता भ्यानकुभरले यसपटक भने खराब प्रदर्शन गर्यो । उसले लिगको सात खेलमध्ये पाँचमा हार, एकमा अंक बाँड्दा एक खेल मात्र जित्न सक्यो ।
भ्यानकुभरमा आबद्ध सन्दीप र दीपेन्द्रले यसपटक अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । सन्दीपले ६ इनिङ्समा ७.६१ को इकोनमीमा ८ विकेट मात्र लिन सके । इकोनमीमा केही महँगो साबित भए पनि उनले विकेट भने सबै खेलमा लिए ।
सन्दीपले पहिलो खेलमा ४ ओभरमा २९ रन दिएर एक, दोस्रोमा चार ओभरमा ३२ रन दिएर दुई, तेस्रोमा ४ ओभरमा २४ रन खर्चेर एक तथा चौथो खेलमा तीन ओभरमा ३९ रन दिएर एक विकेट लिए । पाँचौं खेलमा भने वर्षा बाधक बनेपछि सन्दीपले बलिङको मौका पाएनन् ।
उनले छैटौँ खेलमा ४ ओभरमा ३२ रन दिए एक र सातौं खेलमा ३.२ ओभरमा १४ रन दिएर दुई विकेट हात पारे । सन्दीपले लगातार चौथोपटक ग्लोबल टी–२० खेलेका हुन् । यसअघि उनले फरक–फरक तीन टिमबाट यस लिगमा सहभागिता जनाएका थिए । सन्दीपले हालसम्म ग्लोबल टी–२० मा २३ इनिङ्समा ७.१५ को इकोनमीमा सर्वाधिक ३२ विकेट लिएका छन् ।
यस्तै, ऐरीले पनि जारी सिजनमा क्षमताअनुसारको प्रदर्शन गर्न सकेनन् । ४ इनिङ्समा ब्याटिङको मौका पाएका उनले १४१.९३ को स्ट्राइक रेटमा ४४ रन मात्र बनाए ।
चौथो संस्करणमा दीपेन्द्रको उच्च स्कोर अविजित ३० रन रह्यो । गत सिजनमा उनले मोन्ट्रियल टाइगर्सबाट लिग खेलेका थिए । उक्त संस्करणमा उनले ६ इनिङ्समा १ सय ४३ रन बनाउनुका साथै तीन इनिङ्समा २ विकेट लिए ।
दीपेन्द्रले यसपालि भने तीन खेलमा बलिङको मौका पाउँदा विकेट लिन सकेनन् । बलिङ/ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि उनले फिल्डिङमार्फत भने सबैको मन जिते । हुन त दीपेन्द्र मात्र होइन भ्यानकुभरका अरू खेलाडीको ब्याटिङ प्रदर्शन पनि कमजोर रह्यो ।
सोही कारण पनि भ्यानकुभरले ७ म्याचमध्ये एक खेलमा मात्र जित निकाल्न सक्यो । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलसम्मिलित टोरन्टो नेसनल्स भने अहिले तालिकाको तेस्रो स्थानमा छ । टिमले ६ म्याच खेल्दा रोहितले दुई खेलमा प्लेइङ–११ मा मौका पाएका छन्, जसमध्ये उनले एक खेलमा ब्याटिङ गरे ।
सर्रे जग्वार्ससँगको उक्त खेलमा रोहितले २५ बलमा ९ रन मात्र जोडे । त्यसपछि भने उनी प्लेइङ–११ को हिस्सा बन्न सकेका छैनन् । रोहितआबद्ध टोरन्टोले समूह चरणको अन्तिम खेलमा मंगलबार बिहान मोन्ट्रियल टाइगर्सको सामना गर्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।