logo-img

शिक्षामा गम्भीर विभेद : एसइईका विद्यार्थीलाई काखा, १२ का विद्यार्थीलाई पाखा
६० हजार विद्यार्थीकाे भविष्यमाथि किन खेलबाड गर्दै छ शिक्षा मन्त्रालय ?

गत शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले सोही दिन पूरक परीक्षासम्बन्धी सूचना सार्वजनिक गरेको थियो । बोर्डको उक्त सूचना अनुसार बढीमा दुई विषयमा नन्ग्रेडिङ (एनजी) प्राप्त गर्ने विद्यार्थीले मात्र पूरक (मौका) परीक्षा दिन पाउनेछन् ।

जसमा सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ग्रेड प्राप्त गरी दुुई विषयमा अनुपस्थित भएका वा एक विषयमा न्यूनतम ग्रेड प्राप्त नगरी अर्काे एक विषयमा अनुपस्थित भएका विद्यार्थीले पनि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

लेटर ग्रेडिङ निर्देशिका–२०७८ मा दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले अर्काे वर्षको सम्पूर्ण विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुनः अध्ययन गर्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दै आगामी भदौ २५ र २६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।

बोर्डका अनुसार यस वर्षको परीक्षामा सबैभन्दा धेरै विद्यार्थी अंग्रेजी विषयमा नन्ग्रेड भएका छन् भने त्यसपछि लेखा र सामाजिक विषयमा एनजी हुने विद्यार्थीको संख्या धेरै छ । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी सहभागी भएकोमा २ लाख ३ हजार ८४७ विद्यार्थीले मात्र सबै विषयमा न्यूनतम ग्रेड प्राप्त गरेका छन् भने १ लाख ८७ हजार २१ विद्यार्थी एनजी भएका छन् ।

जसमध्ये १ लाख २७ हजार ७०७ जना विद्यार्थी दुई वटासम्म विषयमा एनजी भएका छन् । जसले आगामी भदौ २५ र २६ गते हुने मौका परीक्षमा सहभागी हुन पाउनेछन् । तर, दुईभन्दा बढी विषयमा एनजी भएका ५९ हजार ३१४ जना विद्यार्थीले भने त्यो अवसर प्राप्त गर्ने छैनन् ।

अब ती विद्यार्थीले आगामी वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । गत असारमा सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि यस्तै प्रकृतिको थियो । उक्त परीक्षामा ४ लाख ६४ हजार ७६५ परीक्षार्थी सहभागी भएकोमा २ लाख २२ हजार ४७२ जनाले मात्रै ग्रेड प्राप्त गरेका थिए भने २ लाख ४२ हजार ३१३ जना विद्यार्थी एनजी भएका थिए ।



एसइईमा ५२ प्रतिशत विद्यार्थीले एनजी ल्याएपछि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने मन्त्रीस्तरीय निर्णय गरेकी थिइन् । ​लेटर ग्रेडिङ निर्देशिकालाई बेवास्ता गर्दै सुमनाले एनजी भएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउन निर्णय गराएकी थिइन् । एसइईमा १ लाख २६ हजार ४७९ जना विद्यार्थीले दुईभन्दा बढी विषयमा एनजी प्राप्त गरेका थिए ।

पूर्वशिक्षामन्त्री श्रेष्ठले एसइईका विद्यार्थीलाई दिएको अवसर १२ कक्षाका विद्यार्थीलाई किन नदिने ? भन्ने प्रश्न उठ्न थालेको छ । कक्षा १२ का विद्यार्थीलाई त्यो अवसर दिने वा नदिने भन्ने निर्णय गर्ने जिम्मेवारीमा अहिले विद्या भट्टराईले छिन् । उही बोर्डले सञ्चालन गर्ने परीक्षामा किन कसैलाई ‘काखा’ कसैलाई ‘पाखा’को व्यवहार गर्न मिल्छ ? कि एसइईमा एनजी हुने र कक्षा १२ मा एनजी विद्यार्थी कि एकै हैनन् ? एकै हुन् भने त्यो अवसर कक्षा १२ का विद्यार्थीले पनि पाउनुपर्छ ।



एसइईमा मौका परीक्षा दिन नपाउँदा विद्यार्थीको भविष्य बिग्रने, बीचमै पढाइ छुट्ने तर कक्षा १२ का विद्यार्थीमा त्यो सन्दर्भमा लागू नहुने त पक्कै होइन होला । १० कक्षाका विद्यार्थीको एक वर्ष खेर जाने, तर १२ का विद्यार्थीको एक वर्ष स्थिर रहने पनि हुँदैन होला । एउटै नीति, नियम र व्यवस्थामा अध्ययन गरेर परीक्षामा सहभागी भएका विद्यार्थीलाई राज्यले नै विभेद गर्न मिल्छ ?

सरकारले सबै विद्यार्थीको मनोवृत्ति बुझेर एउटै व्यवस्था सञ्चालन गर्नुपर्छ । सरकारले सबैलाई विद्यार्थीलाई समान अवसर प्रदान दिनुपर्छ । हैन भने सरकार र मन्त्री परिवर्तन भएपच्छिे फरक–फरक निर्णय गर्ने हो भने शैक्षिक प्रणाली नै खतरामा पर्न सक्छ । यदि १२ कक्षामा तीनभन्दा बढी विषयमा नन्ग्रेड भएका ६० हजार विद्यार्थी एकैपटक सडकमा उत्रिएर एसइईका विद्यार्थीले पाएको जस्तै अवसरको माग गरे भने सरकार पछि हट्नुको विकल्प नहुन पनि सक्छ ।

१२ कक्षाका विद्यार्थीलाई पनि अवसर दिनुपर्छ : शिक्षाविद् प्रा.डा. कोइराला

शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला १२ कक्षाको वार्षिक परीक्षामा ननग्रेड भएका सबै विद्यार्थीलाई एसइईका विद्यार्थीलाई जस्तै मौका परीक्षाको अवसर दिनुपर्ने बताउँछन् । १० कक्षाका विद्यार्थीलाई दिन मिल्ने अवसर १२ कक्षाकालाई दिन नमिल्ने भन्ने नहुने उनको भनाइ छ ।

सरकारले विद्यार्थीको क्रेडिट आवर कति नपुगेको हो त्यसको यकिन गरी विद्यार्थीलाई उक्त क्रेडिट आवर अध्ययन गर्न लगाएर शैक्षिक प्रमाणपत्र उपलब्ध गराउनुपर्ने उनी बताउँछन् । विद्यार्थीलाई ब्रिज कोर्सलगायत विभिन्न माध्यमबाट अध्यापन गराएर सबै विद्यार्थीलाई उक्त अवसर दिए विद्यार्थीको एक वर्ष खेर जानबाट जोगिने उनी बताउँछन् । सरकारले विद्यार्थीलाई विभेदपूर्ण व्यवहार गर्न नहुने उनको बझाइ छ ।

अब त्यो सम्भावना छैन : सदस्यसचिव अर्याल

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले भने कक्षा १२ मा नन्ग्रेड भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने सम्भावना नरहेको बताउँछन् । बोर्डले मौका परीक्षासम्बन्धी सूचना जारी गरेर विद्यार्थीले फारम भर्न थालिसकेकाले अब त्यो सम्भावना नरहेको उनको भनाइ छ ।

उनले भने, ‘मन्त्रालयले सबै विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको भए अहिलेसम्म आइसक्थ्यो, तर अहिलेसम्म केही कुनै सूचना आएको छैन । त्यसैले अब सम्भावना छैन ।’ 

स्कुल लेभलको अन्तिम परीक्षा भएकाले त्यो अवसर १२ कक्षाका विद्यार्थीले पाउँदैनन् : प्रवक्ता दहाल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दहालले कक्षा १२ मा एनजी भएका सबै विद्यार्थीले मौका परीक्षाको अवसर नपाउने बताएका छन् । स्कुल लेभलको अन्तिम परीक्षा भएकाले कक्षा १२ मा दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीले अर्काे वर्ष मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने उनले बताए ।

उनले भने, ‘एसइई स्कुल लेभलको बीचको परीक्षा हो । अहिले कक्षा १२ लाई स्कुल लेभलको अन्तिम परीक्षा मानेकाले विद्यार्थीलाई किन बीचमै रोक्ने भनेर मन्त्रालयले एसइईमा सबै विषय लागेकालाई पनि मौका परीक्षा दिने निर्णय गरेको थियो । तर, १२ कक्षाको परीक्षा पास गरेर विद्यार्थी विश्वविद्यालयमा जाने भएकाले दुईवटासम्म विषय लागेका विद्यार्थीले मात्र मौका परीक्षाको अवसर पाउँछन् ।’

विद्यालय तहको बीचमै विद्यार्थी ड्रपआउट नहुन भन्ने उद्देश्यले पनि एसइईमा एनजी ल्याउने सबै विद्यार्थीलाई शिक्षा मन्त्रालयले मौका परीक्षाको अवसर दिएको उनको भनाइ छ ।
 

  • प्रकाशित मिति : साउन २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया