१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

दक्षिण एसियाको गर्भमा हुर्किरहेको एउटा ‘नयाँ देश’

जुन देशको न्यायालय, सेना प्रहरी प्रशासन र मुख्यधार भनिइने ‘गोदी मिडिया’हरू जसको हातमा हुन्छ, त्यसले हरेक देशलाई आफूले चाहेअनुसार नचाउन सक्दछ । अहिले त्यसकै उदाहरणको रूपमा बंगलादेशलाई लिन सकिन्छ । पछिल्ला केही दिनयता बंगलादेशमा आन्दोलन घातक र राष्ट्रव्यापी अशान्तिमा परिणत गराइएको छ । आन्दोलनकारीलाई उत्तेजित गराउनलाई शहरका विभिन्न ठाउँ–ठाउँमा गोली चलाउन लगाइयो । सोमबार त्यसले झनै उग्ररूप लिँदै हजारौंको संख्यामा प्रदर्शनकारीलाई सडकमा उतारियो । 


सेना र प्रहरीकै सहयोगमा आन्दोलनकारीलाई प्रधानमन्त्री निवासमा प्रवेश गर्न मद्दत गरियो । आरक्षणको बहानामा चलिरहेको आन्दोलन सोमबार थप घातक गराइएको हुँदा प्रधानमन्त्री शेख हसिनालाई गलत भाष्यको सिर्जना गराएर राजीनामा दिन लगाई देश नै छाड्ने अवस्था गराइयो । 



अहिलेको यो बंगलादेशको घटनाक्रमलाई लिएर नेपालमा पनि टीकाटिप्पणी सुरु भइरहेका छन् । एकथरीले भनिरहेका छन्, नेपालमा कहिले सुरु हुन्छ होला त्यस्तो प्रकारको जनविद्रोह ?’ अर्काथरीले भनिरहेका छन्, अब नेपालमा व्यवस्था उल्टिन्छ, प्रतिपक्षहरूले खुसी साटासाट पनि गरिरहेका छन् । हो, नेपालमा पनि यही साल अर्थात् २०८१ सालभित्र बङ्गलादेशको जस्तै जनविद्रोह त पक्कै सुरु हुन्छ । तर, यो नेपालको हित र विकासको लागि भने पक्कै हुने छैन । तर, दक्षिण एसियामा एउटा छुट्टै नयाँ देश जन्माउनलाई मलजल गर्नको लागि भने पक्कै हुनेछ । 

पश्चिमाहरूले युरोप, मध्यपूर्व हुँदै अहिले एसियामा हात हाल्न पुगेका छन् । र, मध्यपूर्वमा अहिले पश्चिमाहरू व्यस्त नभएको भए एसियामा विशेषगरी दक्षिण एसियाभरि व्यापकरूपमा दंगा, अशान्ति मच्चाउन उनीहरू सफल भइसकेका हुने थिए । 



पश्चिमाहरूको चाहनाअनुरूप शेख हसिनाले गएको चुनावमा हार बेहोरेको भए वा प्रधानमन्त्री नभएको भए अहिले बङ्गलादेशमा यो अवस्था आउने नै थिएन । किनकी पश्चिमाहरूले शेख हसिनालाई पनि चुनावमा, भारतको लोकसभा निर्वाचनमा ग्लोबल डिप स्टेट, जर्ज सोरसलाई प्रयोग गरेर भाजपालाई विशेषगरी नरेन्द्र मोदीलाई घुँडा  टेकाए जसरी टेकाउन चाहन्थ्यो । तर, नसकेपछि जसरी भए पनि हसिनालाई पदच्युत गराउनलाई यो घटना गराउन चाहन्थे र अन्ततः सफल पनि भयो । 

शेख हसिनाले विद्यार्थीको माग पूरा गर्ने वचन दिँदा र अदालतले पनि विद्यार्थीको माग पूरा गर्ने आदेश दिइराख्दा फेरि किन त्यहाँ आन्दोलन चर्कियो त भन्ने प्रश्न खडा भएको छ । यसबाट पनि पुष्टि हुन्छ बङ्गलादेशको यो विद्रोह परिचालित हो ।

पश्चिमाहरूले बङ्गलादेशका विद्यार्थीहरूलाई आरक्षणको बहानामा उचालेर उग्र बनाएर र अलकायदाको व्यापक उपस्थितिमा मार्च पास गराएको देख्न सकिन्छ । र, अन्त्यमा बङ्गलादेशका विद्यार्थीलाई गिनिपिग मात्र बनाइयो । घटनाक्रमलाई हेर्ने हो भने अफगानिस्तान, श्रीलंकाको जनविद्रोह हुँदै भारतको मणिपुर दङ्गाप्रति भारतीय कांग्रेस आईका नेता राहुल गान्धीको मोह हुनु, जातका आधारमा जनगणना हुनुपर्छ भन्नु, बर्माबाट आङसाङ सुकीको कार्यकालमै रोहिङ्गाहरूलाई त्यहाँबाट धपाउनु, म्यानमार, पाकिस्तान र बङ्गलादेशका घटना नियाल्दा यो पुष्टि हुन्छ कि पश्चिमाहरूले दक्षिण एसियामा एउटा नयाँ देशको नक्सा कोरिरहेको आँकलन गर्न सकिन्छ । 

एउटा प्रश्न खडा भएको छ, के अब भारत, नेपाल र चीन (तिब्बत) पनि अछुतो रहन सक्छ होला त ? सबैले बुझ्न जरुरी छ, पश्चिमाहरूको उद्देश्य भनेकै विश्वभरि हत्या–हिंसा मच्चाएर आफ्नो हतियार बेच्नु नै हो र विश्वमा उदाइरहेका आफ्ना प्रतिस्पर्धालाई घुँडा टेकाउनु हो । पश्चिमाहरू र चीनबीचको विश्व आर्थिक टकरावले गर्दा दक्षिण एसिया रणभूमिमा परिणत हुन सक्ने खतरा एकदम नजिक रहेको छ ।



नेपाललाई नेपालजस्तो बनाउने हो र नेपालको अस्तित्व मेटिन नदिन र विदेशीहरूको क्रीडास्थल नबनाउनका लागि नेपालले ब्रिक्सको सदस्यता लिनुको विकल्प छैन । यो अब अनिवार्य भएको छ ।

  • प्रकाशित मिति : २२ साउन, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया