logo-img

काभा महिला भलिबलमा कस्तो छ नेपालको विगत प्रदर्शन ? [भिडियोसहित]
तस्बिर साैजन्य : नमस्ते सुर्खेत

चौथो संस्करणको काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा मंगलबार नेपालले इरानको सामना गर्दैछ । यी दुई टोलीबीचको प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ सवा ५ बजेदेखि सुरु हुनेछ ।

इरानविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य लिग चरणको हारको बदला लिँदै फाइनलमा स्थान बनाउनु हुनेछ । पहिलो चरणमा इरानसँग नेपाल ३–२ सेटले स्तब्ध भएको थियो । उक्त खेलमा नेपालको प्रदर्शन फितलो रह्यो ।

यदि फाइनल पुग्ने हो भने नेपालले सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । लिग चरणमा इरानसँग स्तब्ध भए पनि नेपालले ​डिफेन्डिङ च्याम्पियन भारतलाई भने ३–२ सेटले हरायो । भलिबल इतिहासमा नेपालले भारतलाई हराएको यो पहिलोपटक हो । 

यस्तै, लिग चरणमा नेपालले श्रीलंका र माल्दिभ्सलाई सोझो सेटमा हरायो । नेपाल अब इरानी टिमलाई पाखा लगाउँदै तेस्रोपटक काभाको फाइनल पुग्न चाहन्छ । उता इरान नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै पहिलोपटक फाइनलको टिकट हात पार्ने दाउमा छ ।

विगतमा नेपालको प्रदर्शन 



विगत तीन संस्करणमा यो प्रतियोगिता ‘काभा महिला भलिबल च्यालेन्ज कप’को नामबाट आयोजना गरिएको थियो । काभामा हालसम्म नेपाली महिला टिमले सर्वाधिक दुईपटक उपाधि जितेको छ ।



सन् २०१९ मा बंगलादेशमा भएको पहिलो संस्करण राउन्ड रोबिनमा खेलाइएको थियो । त्यहाँ नेपाल तालिकाको शीर्षमा रहँदै च्याम्पियन बन्यो । उक्त सिजनमा भारतले भने सहभागिता जनाएको थिएन । 

यस्तै, सन् २०२१ मा भएको दोस्रो संस्करणमा पनि नेपाल च्याम्पियन बन्यो । उक्त सिजनको फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । भारतले भने सो संस्करणमा पनि भाग लिएन । उसले सन् २०२३ को काभामा भने सहभागिता जनायो । भारतले फाइनलमा काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि पनि जित्यो ।

उक्त संस्करणमा भने नेपाल तेस्रो भयो । यसपालि नेपालले सो प्रतियोगिताको नतिजामा सुधार गर्दै उपाधि जित्ने लक्ष्य लिएको छ । घरेलु काेर्टमा खेल्न लागेकाले पनि नेपाललाई तेस्रोपटक काभा भलिबलको उपाधि जित्ने सुनौलो मौका छ ।

जारी प्रतियोगिता खेलिरहेका टिमहरूको समग्र प्रदर्शन हेर्दा नेपाल र भारतले फाइनलमा स्थान बनाउने सम्भावना बलियो छ । यदि भारतलाई हराउँदै उपाधि जितेमा नेपालले अर्को इतिहास रच्नेछ ।

हालसम्म नेपालले भलिबलको कुनै पनि फाइनलमा भारतलाई हराउन सकेको छैन । जारी प्रतियोगितामा भारतले सेमिफाइनलमा श्रीलंकासँग खेल्नेछ ।

यी दुई टिमबीचको खेल मंगलबार सवा ३ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको लिग चरणमा भारतले चारमध्ये तीनमा जित र एक खेलमा हार बेहोर्‍यो । यस्तै, श्रीलंकाले चारमध्ये दुईमा जित र दुई खेलमा हारको सामना गरेको थियो । 

  • प्रकाशित मिति : साउन २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया