logo-img

बंगलादेशको घटनापछि भारतले बढायो सक्रियता

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर भारतमा शरण लिन पुगेपछि उक्त घटनाको विषयलाई लिएर भारतले विशेष चासो दिएको छ ।

विद्यार्थी आन्दोलनका कारण देश नै छाड्नुपर्ने अवस्था आएपछि भारतीय प्रधानमन्त्रीकी निकट मानिएकी शेख हसिनासँग मोदीका केही सल्लाहकारले सोमबार नै भेट गरिसकेको भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् । तर, भेटमा के गफ भयो भन्नेबारे सार्वजनिक गरिएको छैन । बंगलादेशमा बढ्दो राजनीतिक अस्थिरतालाई लिएर भारतमा मंगलबार सर्वदलीय बैठक पनि बसेको छ ।  

बैठकमा भारतका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, संसदीय मामिलामन्त्री किरण रिजिजुलगायत विपक्षी नेता राहुल गान्धी सहभागी भएको खबर इन्डिया एक्सप्रेसले लेखेको छ । घटनाबारे बैठकमा विदेशमन्त्री जयशंकरले ‘ब्रिफिङ’ गरेका थिए ।

सोमबारै राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठक पनि बसेको थियो । बैठकमा बंगलादेशको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो । सोमबार साँझ नै हसिनासँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेटेका थिए ।

हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर सोमबार साँझ ५ः३६ बजे भारत आइपुगेको र गाजियाबादको हिन्डन एयरबेसमा सेफ हाउसमा रहेको जनाइएको छ ।  

दुई दशक सत्तामा हुँदा हसिनाले भारतसँग असल मित्रको भूमिका निर्वाह गरेकी थिइन् । तर, हसिना सत्ताच्यूत भएपछि भारतलाई बंगलादेशसँग नयाँ मित्रता अघि बढाउन कठिन हुने अनुमान गरिएको छ । 





  • प्रकाशित मिति : साउन २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया