बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि पनि प्रदर्शनकारीले देशका विभिन्न स्थानमा अस्वाभाविक हर्कत देखाएका छन् । प्रदर्शनकारीले देखाएको अस्वाभाविक व्यवहारका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ भने देशको शासन सेनाले जिम्मा लिएको भए पनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन् । हसिनालाई ४५ मिनेटभित्र राजीनामा दिएर देश छाड्न चेतावनी दिएका प्रदर्शनकारीले मंगलबार पनि ठाउँ–ठाउँमा अराजक व्यवहार प्रदर्शन गरेका छन् ।
राजधानी ढाकाका कैयौँ क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ । सोमबार कैयौँ प्रहरी चौकीमा आक्रमण भएको थियो र धेरै ठाउँमा आक्रोशित भीडले प्रहरीसँग झडप गरेका थिए । कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका थिए ।
प्रहरी चौकीभित्रबाट पंखा, कुर्सी, टेबुललगायत सबै प्रकारका सामान लुटिएको थियो । सुरक्षा संकटका कारण प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरीहरू आइतबार नै प्रहरी चौकी छाडेर सुरक्षित स्थानमा गएका थिए । प्रहरी चौकीका हतियारसमेत लुटिएको समाचार संस्थाहरूले जनाएका छन् ।
उत्तेजित समूहले प्रधानमन्त्री निवासभित्रबाट छिरेर थुप्रै सामान चोरीसमेत गरेका छन् । प्रधानमन्त्री बस्ने कुर्सीदेखि सोफा, पंखा, फ्रिज, लत्ताकपडा, भाँडाकुँडालगायत थुप्रै सामानको चोरी गरेका छन् । सञ्चारमाध्यममा आएका भिडियोहरूमा सेख हसिनाको सारी लगाएर प्रदर्शनकारीले फोटोसुट पनि गरेका देखिन्थे ।
केहीले भने उनका निजी कपडा पनि उठाएको भिडियोमा देखिन्छ । सरकारले प्रदर्शन दबाउन प्रयास गरेपछि आन्दोलन थप हिंसात्मक बन्दै गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सेनाले देशको शासन आफ्नो हातमा लिए पनि प्रदर्शनकारी शान्त बनेका छैनन् ।
प्रदर्शनकारी बंगलादेशको संसद, प्रधानमन्त्री निवाससहित कैयौँ सरकारी भवनमा प्रवेश गरेर उदण्ड मच्चाउँदा सेना मूकदर्शक बनेको आरोप लागिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।