logo-img

कांग्रेस-एमाले सहकार्य भागबण्डाका लागि होइन, संकट समाधानका लागि : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवाप्रवाह र निराशा चिर्नका लागि दुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट पारेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले संघीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति ध्यान दिन आग्रह गरे । 

‘देशको विषम परिस्थितिलाई आत्मसात् गरी नेपाली कांग्रेस र नेकपा (एमाले)बीच समीकरण भएको हो । यो समीकरण भागबण्डा र नियुक्तिका लागि भएको होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशमा राणाशासन र पञ्चायतको अन्त्यदेखि सशस्त्र संघर्षको सही व्यवस्थापन, गणतन्त्र र संघीयताका लागि यी दुई ठूला दल मिलेरै देशको संकट समाधान भएको छ । आर्थिकलगायत देशको विषम परिस्थितिका निम्ति अहिले विशेष संकल्पसहित हाम्रो सहकार्य भएको हो ।’

उनले विभिन्न क्षेत्रमा देखिएको विषमतालाई अन्त्य गर्न र जनताको समृद्धि र सुख प्राप्तिको लागि सरकार गठन भएकाले प्रदेश सरकारले यसमा ध्यान दिने अपेक्षा व्यक्त गरे । 

जनताको दुःख, विकासको अवस्था, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, पूर्वाधार विकास, रोजगारी, सुशासनको प्रत्याभूति कायम गराउन दत्तचित्त भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक खर्चलाई मितव्ययी र चुस्त–दुरुस्त व्यवस्थापन गर्ने, राजस्व वृद्धि र सार्वजनिक सम्पत्तिको सही सदुपयोग गर्ने विषयमा पनि ध्यान दिन सम्झाए । 

‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने कुरालाई आत्मसात् गरी बागमती प्रदेशमा रहेका विद्यमान विकृति, विसंगति र अन्योलको अवस्था चिर्नका लागि एकजुट भई कार्य गर्न म विशेष आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भने, ‘मान्छेले मान्छेलाई दण्ड होइन, हप्काएर दप्काएर होइन, कसैको पनि अपमान नहुनेगरी, सुख–दुःखमा साथ दिनेगरी, आफ्नो जिम्मेवारी कर्तव्य र उत्तरदायित्व निर्वाह गर्नुहुनेछ ।’





  • प्रकाशित मिति : साउन २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया