बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् । नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्त गरेको घोषणा गरेका हुन् ।
मंगलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको हो ।
यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद् भंग गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिएका थिए । ८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।
युनुसले सन् १९७० को दशकमा लघुवित्तको थालनी गर्ने व्यक्तिको परिचय बनाएका थिए । उनले सुरु गरेको लघुवित्तको अवधारणाले देशका कतिपय मानिसलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग पुग्यो ।
चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा उनी लघुवित्तको अवधारणाबाट प्रेरित भएका थिए । युनुसले केही दर्जन गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरे । उनले एकपटकमा १ सय डलरभन्दा कम मात्र पैसा दिए, जुन परम्परागत बैंकहरूले दिने गरेका थिएनन् ।
उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू छोटो समयमा फस्टाए । सन् १९८० को दशकमा त्यसमा दसौँ हजार मानिस सदस्य भए र त्यो ग्रामीण बैंक बन्यो ।
उक्त बैंकले बंगलादेशभरि व्यापक परियोजना सुरु गर्यो, त्यसमध्ये केही नाफामुखी र केही गैर नाफामुखी थिए । उक्त बैंकको लगानीमा सुरु भएका परियोजनामध्ये कुनै कपडा उद्योग, कुनै मोबाइल टेलिकमसम्बन्धी र केही ब्रोडब्यान्ड इन्टरनेटसम्बन्धी थिए ।
आफ्नो कामको सफलता र अन्तर्राष्ट्रिय स्तरबाट पाएको मान्यताले युनुसलाई पछ्याइरहे । जसको परिणाम आफ्नो वित्तीय योगदानको लागि सन् २००६ मा उनले नोबेल शान्ति पुरस्कार पाए । उनले चर्चामा ल्याएको उक्त अवधारणा अरू विकासोन्मुख देशका लागि पनि नमूना परियोजना बनेका छन् ।
युनुसले नोबेल पुरस्कार पाएलगत्तै राजनीतिकमा आउने निर्णय लिए । तर, राजनीतिक अस्थिरताका कारण उनको राजनीतिक करियर लामो समयसम्म अघि बढ्न सकेन ।
सन् २००७ मा उनले नागरिक शक्ति नाम दिइएको राजनीतिक अभियानमा काम गर्न सुरु गरे । उनले यही अभियानबाट बाङ्ग्लादेशमा तेस्रो राजनीतिक शक्ति स्थापना गर्ने प्रयास गरेका थिए । तर, यो अभियानलाई हसिना र उनकी प्रतिस्पर्धी बेगम खालेदा जियाले दशकौँसम्म माथि उठ्न नदिने कोसिस गरे ।
गत जुन महिनामा बङ्गलादेशको एउटा अदालतले युनुसले आर्थिक अपचलन गरेको ठहर गरेको थियो । उनले आफूविरुद्ध लागेको आरोपलाई अस्वीकार गरेका थिए ।
राजनीतिक दुराशयका कारण युनुसलाई मुद्दा हालिएको उनका समर्थकको दाबी छ । गत वर्ष जुलाईमा बङ्गलादेशको माथिल्लो अदालतले युनुसलाई १० लाख अमेरिकी डलर कर तिर्न आदेश दियो ।
सन् २०१३ मा सरकारी अधिकारीहरूले प्राध्यापक युनुसमाथि विदेशी आयमा कर छली गरेको आरोप लगाएका थिए । उक्त मुद्दामा उनको नोबेल पुरस्कार र एक पुस्तकबाट प्राप्त रोयल्टी समावेश भएको विश्वास गरिन्छ ।
गत जनवरीमा उनी देशको श्रम कानुन उल्लङ्घन गरेको आरोपमा दोषी ठहर भएर तीनजना ग्रामीण दूरसञ्चार परियोजनाका सहकर्मीसँगै ६ महिना जेल सजाय पाए । यद्यपि युनुसले जेल भने बस्नु परेन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।