logo-img

अनुभवी थिए पाइलट मल्ल, कसरी भयो दुर्घटना ?
विज्ञ भन्छन्– नेपालमा एभिएसन सेफ्टीमा समस्या छ

सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै आज एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । 

मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ । मृतक सबैको शव संकलनगरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।
        
आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । 

सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आजै तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको हो । आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।
        
यसअघि साउन ९ गते सौर्य एयरलाइन्सको सिआरजे ७ (एन–एएमइ) कलसाइन विमान स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो । चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु हुनका साथै एकजना घाइते भएका थिए । 
        
यसअघि पटक १४ अक्टोबर सन् २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको ‘एन–एनजे’कलसाइन हेलिकप्टर जिल्लाको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो । तीन महिनामा दुई हेलिकप्टर दुर्घटना भएपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको थियो ।

एकचालिसौँ हेलिकप्टर दुर्घटना

प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कूल एक सय १० हवाई दुर्घटनामा नौ सय ६५ जनाको मृत्यु भएको छ । यो हेलिकप्टर र विमान दुवै दुर्घटनाको विवरण हो । 

नेपालमै पहिलोपटक सन् १९७९ मा लाङ्टाङमा हेलिकप्टर दुर्घटना भएको थियो । लाङ्टाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भयो । त्यसयता आजको हेलिकप्टर दुर्घटना एक सय १०औँ दुर्घटना हो । 



प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार आजको हेलिकप्टर दुर्घटनासहित हालसम्म नेपालमा विभिन्न हेलिकप्टर कम्पनीका ४१औँ दुर्घटना हो । ती दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । उनले नेपालमा एकपछि अर्को हवाई दुर्घटनाले प्राधिकरणलाई गम्भीर बनाएको बताए । उनले हवाई सुरक्षालाई प्रभावकारी बनाउन थप सक्रियता अपनाउने विश्वास व्यक्त गरे । 

प्राधिकरणको विवरणमा एक सय १० दुर्घटनामध्ये ५१ मल्टिइञ्जिन विमान दुर्घटनामा चार सय ६९, आठ सिंगल इञ्जिन विमान दुर्घटनामा २५ र ४१ हेलिकप्टर दुर्घटनामा ९८, विदेशमा दर्ता भएका १० वायुयान दुर्घटनामा तीन सय ७३ को मृत्यु भएको छ ।
 
अनुभवी थिए पाइलट, कसरी भयो दुर्घटना ?



बुधबार दिउँसो एयर डाइनोस्टीको हेलिकप्टर भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको थियो । चिनियाँ नागरिकलाई स्याफ्रुबेंसी छोडेर त्यहाँबाट अमेरिकी नागरिकलाई काठमाडौं ल्याउने  योजना थियो । तर विडम्बना हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरीस्थित सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो ।

एयर डाइनेस्टीको हेलिकप्टरका पाइलट मल्ल वरिष्ठ र अनुभवी पाइलट थिए । उनले करिब सात हजार घण्टा उडान भरेका थिए । लोड पनि धेरै थिएन । चारजना मात्रै यात्रु थिए । तर, पनि कसरी दुर्घटना भयो भनेर प्राधिकरणका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् । 

श्रीमतीका साथ पाइलट मल्ल

‘दुर्घटना अप्रत्याशीत छ, आजको मौसम सफा थियो । काठमाडौंमा ‘भिएफआर फ्लाइट’ चलिरहेको थियो । काठमाडौंबाट पाँच किलोमिटरसम्मको ‘भिजिबिलिटी क्लियर’ थियो । तर, पनि कसरी दुर्घटना भयो । मौसम बिग्रिएर भयो कि अरू कारणले भयो भन्नेबारे जाँच आयोगको प्रतिवेदनपश्चात् मात्रै भन्न सकिन्छ,’ प्राधिकरणका सूचना अधिकारी भूलले भने, ‘काठमाडौंको नजिकै जुनकिसिमको हवाई दुर्घटना भएको छ, यसले प्राधिकरणलाई गम्भीर बनाएको छ, प्राधिकरणले पनि आफ्नो आन्तरिक छानबिन गर्नेछ । एयरलाइन्सको आन्तरिक सेफ्टी अडिट पनि गर्छौं ।’
        
सूचना अधिकारी भूलले उडान सुरक्षामा प्राधिकरणले गम्भीरतापूर्वक कार्य गरिरहँदा पनि हवाई दुर्घटना दर बढिरहनु चिन्ताको विषय भएको भन्दै एयरलाइन्स सञ्चालन गर्ने कि बन्द गर्ने अवस्थामा पुगेको बताए । ‘अब, यहाँ कर्मसियल कुरा हैन कि एयरलाइन्स चलाउने कि बन्द गर्ने अवस्थामा पुगिसकेका छौँ,’ उनले भने, ‘हामीले उडान सुरक्षामा यति गर्दागर्दै पनि किन दुर्घटना भइरहेको छ, भन्ने कुरा पत्ता लगाउन जरुरी छ, प्राधिकरणले सबै एयरलाइन्सको सेफ्टी अडिट इन्भेष्टिगेसन गरेर आगामी दिनमा कसरी जाने भन्ने रणनीति तय गर्नेछ ।’

हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जियो

एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ । पछिल्ला दिनमा मुलुकको हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल चलिरहेका सन्दर्भमा आज भएको हवाई दुर्घटनाले पुनः यो क्षेत्रलाई पुनःतरंगित बनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिव गौतमले एकपछि अर्को हवाई दुर्घटनाले समग्रमा नेपालको नागरिक उड्डयन क्षमतामा समस्या छ भन्ने पुष्टि भएको उल्लेख गर्दै यसलाई सुधार्न नीतिगत र संरचनागत परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । 

‘आजसम्म जति पनि हवाई दुर्घटना भएका छन् ती सबै दुर्घटनाले नेपालमा एभिएसन सेफ्टीमा समस्या छ भन्ने संकेत गरेको छ,’ उनले भने, ‘हवाई उड्डयन सुरक्षा हिजो पनि समस्या थियो, अहिले झनै समस्या देखिएको छ, त्यसैले नेपालको समग्र ‘सेफ्टी ओभरसाइड क्यापाबिलिटी इनह्यान्स’ गर्नुपर्छ, त्यसका लागि सरकारले नीतिगत रुपमा के–के काम गर्नुपर्ने हो त्यसतर्फ ध्यान दिन जरुरी छ ।’
        
बारम्बारको हवाई दुर्घटनाले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही देखिएको हवाई विज्ञ अच्युत पहाडीले बताए । ‘दुई सातामै दुईवटा दुर्घटना हुनुभएको दुर्भाग्य हो, तुलनात्मक रुपमा सुरक्षित मानिएको हवाई सेवा सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ,’ उनले भने, ‘नेपालका सबै एयरलाइन्सको, टेक्निकल अडिट, फाइनान्सियल अडिट र अप्रेसनल अडिट सूक्ष्म रूपमा नगर्ने हो भने छिट्टै अरू दुर्घटना निम्तने खतरा छ, त्यसैले सबै एयरलाइन्सको प्रभावकारी नियमन गर्न प्राधिकरण पनि गम्भीर बन्नुपर्छ ।’

विज्ञ पहाडीले हवाई सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई चाँडो पारित गरेर नियामक र सेवा प्रदायकका रूपमा बनाउन अपरिहार्य भइसकेको उल्लेख गरे । 

हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल

यही साउन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदहरूले मुलुकको हवाई सुरक्षाबारे केन्द्रित भई छलफल गरेका थिए । कांग्रेस सांसद राजेन्द्र बजगाईंका अनुसार उक्त छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई संसद्बाट अगाडि बढाउनेलगायत समसामयिक विषयमा कुराकानी भएको थियो ।

यस्तै, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको यही साउन १० गते भएको बैठकले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रतिवेदन एक साताभित्र समितिसमक्ष पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो । 

समितिका सभापति राजकिशोर यादवले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकबारे समितिलाई जानकारी गराउन पनि बैठकले पर्यटन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । समितिका अधिकांश सांसदले मुलुकको हवाई सुरक्षालाई दृष्टिगत गर्दै प्राधिकरण विभाजनसम्बन्धी विधेयक अगाडि बढाउन माग गरेका थिए । 

 तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ विसं २०७६ फागुन ११ मा राष्ट्रियसभामा दर्ता गराएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ अन्तर्गत स्थापित प्राधिकरणले नियमन र हवाइसेवा प्रदायक दुवै सेवा दिँदै आएको छ । 

नियामक र सेवा प्रदायकगरी अलगअलग निकायका रूपमा बनाउने प्रयोजनका निम्ति उक्त विधेयक अगाडि बढाइएको हो । विसं २०७८ साउन १८ गते राष्ट्रिय सभाबाट पारित उक्त विधेयक अहिले निष्क्रिय छ । विसं २०७९ असोज १ गते प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको हो । 

  • प्रकाशित मिति : साउन २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया