logo-img

सन्दर्भ विश्व नेत्ररोग विशेषज्ञ दिवस : सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन । १० हजार जनसंख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशक्तिले सेवा दिँदै आएका छन् । 

नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष प्रा.डा. मिनु चौधरी नेपालमा चार सय ८२  मात्रै नेत्र चिकित्सक रहेको बताउँछन् । उनका अनुसार नेपालको पछिल्लो जनसङ्ख्याको हिसाबले तीन हजारभन्दा बढी नेत्र चिकित्सक आवश्यक पर्दछ । 

अर्काेतर्फ भएका चिकित्सक पनि सहर केन्द्रित छन् । प्रा.डा. चौधरीका अनुसार काठमाडौंमा मात्रै ६० प्रतिशत चिकित्सकले सेवा दिन्छन् । बाँकी ४० प्रतिशत पनि देशका प्रमुख शहरका अस्पतालमा सेवा प्रदान गर्दछन् । सोसाइटीमा दर्ता भएका चिकित्सकमध्ये एक सय हाराहारी नियमित काममा छैनन् । २० प्रतिशत हाराहारी विदेश भएको अनुमान छ । उनी भन्छन्, ‘सहज आँखा उपचारका लागि चिकित्सकको सङ्ख्या बढाउनुपर्नेमा पर्छ ।’ 

सन् १९८७  देखि नेपालमा आँखा उपचारका लागि विशेषज्ञ चिकित्सक (अप्थाल्मिक साइन्सक) को अध्ययन/अध्यापन सुरु भएको हो । आँखाका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शिक्षण संस्थामा सिट सङ्ख्या बढाएर थप जनशक्ति उत्पादनमा लाग्नुपर्ने उनको भनाइ छ । ‘अहिलेको जनशक्ति निकै कम छ, यसलाई बढाउन लाग्नुपर्छ,’ चौधरीले भने ।

ग्रामीण क्षेत्रका बासिन्दाले सेवा पाउन अझै कठिन छ । विभिन्न अस्पताल र सामाजिक सङ्घसंस्थाले गाउँगाउँमा लैजाने शिविरको भरमा ग्रामीण क्षेत्रको आँखा उपचार धानिँदै आएको छ । देशभर आँखा उपचारको सञ्जाल फैलाएको नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा. चेतराज पन्त सेवा विस्तार गर्दै गर्दा आँखा उपचार सेवाका लागि दक्ष जनशक्ति पाउन कठिन हुने गरेको बताउँछन् । 

देशभर २८  अस्पताल र १ सय ६०  आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको सङ्घका अस्पतालमा १ सय हाराहारी चिकित्सक कार्यरत छन् । उनका अनुसार स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ । यस्तै, ५१ लाख ३३ हजार ६ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । 



गत वर्ष सङ्घको नेटवर्कमार्फत ३३ लाख दुई सय ३१ जनाको आँखाको परीक्षण गरिएको ६ भने २ लाख ६७ हजार एक सय ३५ जनाको आँखाको शल्यक्रिया भएको छ ।

अध्यक्ष पन्तले सकेसम्म ग्रामीण क्षेत्रसम्म सेवा दिएको जानकारी दिँदै आर्थिक, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीका अभावमा चाहे जति आँखा सेवा  गर्न नसकेको बताए । ‘सेवा द्रुत गतिमा विस्तार गर्दैछौँ, दक्ष जनशक्तिको अभाव छ,’ उनले भने ।



कतिपयलाई अस्पतालहरूले ‘फेलोसिप’ दिएर पढ्न पठाउने गरेको उनको भनाइ छ ।  अध्यक्ष डा. पन्त पढाइरहेको सिट सङ्ख्या वृद्धि गरेर चिकित्सकको सङ्ख्या बढाउनुपर्ने सुझाव दिन्छन् । अझै पनि सङ्घीय राजधानीबाहिर चिकित्सकको अभावमा आम नागरिकले सहज उपचार पाउन सकेका छैनन् । आँखा रोगको उपचार समयमा हुन सकेमा अन्धोपन हुनबाट बचाउन सकिन्छ । नेत्र सहायकको भरमा ग्रामीण क्षेत्रका उपचार केन्द्रहरूले सेवा दिँदै आएका छन् । 

नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्कीले सबै क्षेत्रमा चिकित्सक पर्याप्तता नरहेको बताए । सरकारले सेवा मात्रै खोज्ने र गुणस्तरीय सेवामा ध्यान नदिने गरेको उनको भनाइ छ । 

आँखा क्षेत्रमा नेत्र विशेषज्ञको जनसंख्याका आधारमा निकै कम रहेको जनाउँदै उनले यस क्षेत्रमा पनि दरबन्दी बढाएर सेवा दिनुपर्ने बताए । ‘जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्छ,’ कार्कीले भने । रासस 

  • प्रकाशित मिति : साउन २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया