नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार बंगलादेशको ढाका फर्किएका छन् । आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बंगलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा गरी देश छोड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने सहमतिका साथ उनी स्वदेश फर्किएका हुन् ।
बिहिबार दिउँसो पेरिसबाट दुबई हुँदै ढाका पुगेका युनुसले बिहीबार साँझ नै नयाँ सरकार प्रमुखको रूपमा शपथ लिने सम्भावना सार्वजनिक गरिएको छ । सरकारको गैर–जिम्मेवारीपनको बीचमा उर्लेको विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको मागमा सेनाले सहमति जनाएसँगै हसिनाले पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो ।
युनुसले ढाकाका लागि प्रस्थान गर्दा पेरिसमा पत्रकार समक्ष आफू घर फर्कन पर्खिरहेको र त्यहाँ के भइरहेको छ, कसरी समस्याबाट बाहिर निस्कन सक्छौँ भनेर सोच्न समर्थक सबैलाई आह्वान गरेका थिए ।
युनुसलाई यस पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उनी निर्बासनमा बस्दै आएका थिए ।
सेना प्रमुख जनरल वाकर–उज–जमानले युनुसको समर्थनमा रहेको जनाउँदै बिहीबार साँझ अन्तरिम सरकारको नेतृत्वको शपथ लिने आशा व्यक्त गरे । यसरी आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडि बढाउन सक्षम हुने विश्वास जमानले व्यक्त गरे ।
ढाका विमानस्थलमा पत्रकारहरूसँग युनसले ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताउँदै मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख गरेका छन् । उनले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।