logo-img

अमेरिका-अष्ट्रेलियापछाडि नेपाली नर्सको प्रमुख गन्तव्य खाडी

धनगढी कैलाली घर भएकी रक्षा कार्कीले दुई वर्षअघि किष्ट मेडिकल कलेजबाट पिसिएल नर्सिङ पास गरिन् । नर्सिङ पास गरेपछि उनले धुम्बाराहीस्थित रहेको ह्याम्स अस्पतालमा जागिर गरिरहेकी छिन् । जागिर गरेको करिब डेढ वर्षपछि भने उनलाई विदेशी अस्पतालमा काम गर्ने रहर जागेको छ ।

उनलाई विदेश जाने हुटहुटी जागेको धेरै भएको छैन । डेढ वर्षकै जागिरे जीवनमा उनले दिनरात नभनी मिहिनेत गर्दा पनि कामबापत पाइने पारिश्रमिकले भने उनको मन कुँडिएको छ । 

‘नर्सिङ पढेपछि यस क्षेत्रमा भविष्य राम्रो छ’ भन्ने सुनेपछि यसतर्फ आएँ । तर, सोचेजस्तो सजिलो चाहिँ छैन । पढ्न त केही गाह्रो थिएन । ‘पढाइपछि इन्टर्न गर्नलाई मौका देऊ’ भनेर अस्पताललाई गुहार्दा पनि वास्ता गर्दैनन्,’ रक्षा भन्छिन्, ‘कति अस्पतालमा इन्टर्नका लागि मौका पनि पाइनँ । छ–सात महिना विभिन्न अस्पतालमा धाएपछि बल्ल यहाँ जागिर नै खानेगरी जोइन भएँ । काम त जता गए पनि गर्नुपर्छ, त्यहीँ पारिश्रमिकमा चित्त बुझेको छैन । त्यही भएर विदेश जाने प्रक्रिया अगाडि बढाएकी छु ।’ नेपालमा नर्सलाई दिइने तलबले खान बस्नै पनि धौ–धौ हुने देखिएपछि आफू जुनसुकै देश जान पनि तयार रहेको रक्षाको भनाइबाट प्रस्ट हुन्छ । 

नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् । नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतलगायतका विकसित मुलुक हुने गरेको छन् ।  तर, पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुवेतलगायत देशप्रति पनि नेपाली नर्सहरूको आकर्षण बढ्न थालेको छ ।

सुनसरीकी रमिता पासवान पनि रक्षाकै कक्षासाथी हुन् । उनी अहिले कुनै पनि अस्पतालमा आबद्ध छैनन् । नेपालकै अस्पतालमा काम गर्ने धेरै इच्छा हुँदाहुँदै पनि मौका नपाएपछि उनले कुवेतका लागि प्रक्रिया अगाडि बढाइन् ।  विदेश जाने प्रक्रिया करिब अन्तिमतिर पुगेको र आफू चाँडै नै कुवेतका लागि उड्ने उनले बताइन् । 

‘करिब पाँच–छ लाख लगानी लगाएर नर्सिङ पढेको हुँ । काम सहजै पाइन्छ भनेपछि बुवाले मलाई ऋण गरेरै भए पनि नर्सिङ पढाउनुभयो,’ रमिता भन्छिन्, ‘त्यत्रो लगानी लगाएर पढेपछि जसले पनि कमाएर दिओस्’ भन्ने आशा राख्छन् । मेरो परिवारलेपनि आश गरेका छन् । तर, पढाइ सकिएको डेढ वर्षभन्दा बढी भइसक्यो । नेपालमा जागिरको टुंगो नलागेपछि मनमा ढुंगा राखेर भए पनि कुवेत जाँदै छु ।’



नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा. सरला केसीले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुवेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाइरहेको जनाइन् । थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा जाने गरेको उनले बताइन् । 

नर्सिङ क्षेत्रबाट जनशक्ति बाहिरिने क्रम नरोकिए नेपालमा नर्स खोज्नुपर्ने अवस्था आउन सक्ने बताउँदै उनले नेपालमा रोजगारी नपाएर वा कम मूल्यमा श्रम गर्नुपर्ने भएकाले नर्स विदेसिने गरेको प्रस्ट पारिन् । सर्लाहीबाट पाँच महिनाअघि साउदी गएकी नर्स पुष्पा भगत (नाम परिवर्तन)ले साउदीमा महिनामा एक लाख २५ हजार रुपैयाँ कमाइरहेको बताउँछिन् । उनका अनुसार बस्न र खानका लागि अस्पतालले व्यवस्थापन गरिदिएको छ, कमाएको पैसा सबै बचत हुन्छ । 



पुष्पा नेपालमा विद्यालय नर्स थिइन् । उनी भन्छिन्, ‘नेपालमा हुँदा खर्च धान्नै मुस्किल हुन्थ्यो । अहिलेको तलबबाट करिब एक लाख रुपैयाँ बचाएर घरमा पठाउने गरेकी छु । यता कामको चाप धेरै भए पनि तलब पनि राम्रो आउँछ । परिवारका सदस्य पनि खुसी छन् ।’

भेरिफिकेसन लेटर लिने ४० हजारभन्दा बढी

नेपाल नर्सिङ काउन्सिलमा ‘भेरिफिकेसन पत्र’ लिएर विदेश जाने नर्स ४० हजार ५३९ जना रहेका छन् । काउन्सिलले उपलब्ध गराएको यो तथ्यांक २०८० चैतसम्मको हो । २०८१ मा विदेश जाने नर्स धेरै रहेको र त्यसको तथ्यांक आउन बाँकी रहेको बताउँछिन्, अध्यक्ष प्रा. केसी । काउन्सिलमा ८२ हजार ४७१ जना नर्स दर्ता छन् । तीमध्ये ४० हजारभन्दा बढीले विदेश जानका लागि ‘भेरिफिकेसन लेटर’ लिएका छन् । 

अध्यक्ष केसीका अनुसार २०६९ सालमा एकसय १५ जनाले विदेश जान ‘भेरिफिकेसन’ लिएका थिए । यो संख्या २०७९ मा छ हजार आठ र २०८० मा आठ हजार एकसय ६३ पुगेको छ । 

काउन्सिलका अनुसार अमेरिकाका लागि सबैभन्दा बढी २३ हजार ३७० नर्सले भेरिफिकेसन पत्र लिएका छन् । यस्तै, अस्ट्रेलियाका लागि ११ हजार २८९, दुबईका लागि दुई हजार ८०४, डेनमार्कका लागि छ सय ४७, बेलायतका लागि छ सय ८५, क्यानडा चारसय ६१, न्युजिल्यान्ड एकसय ७७, आयरल्यान्ड ८६, कतार तीनसय ८६, कुवेत दुई सय ६८, संयुक्त राष्ट्रसंघीय मिसन दुईसय १७, जर्मन ३६, भारत ३५, फिनल्यान्ड आठ, माल्दिभ्स ३०, हङकङका लागि ५३ जना नर्सले ‘भेरिफिकेसन लेटर’ लिएका छन् । 

प्रमाणीकरणविनै जानको संख्या पनि उल्लेख्य 

काउन्सिलकी अध्यक्ष केसीले काउन्सिलमा भेरिफिकेसन नगरी विदेश जाने नर्सको संख्या प्रशस्त रहेको जानकारी दिइन् । उनले साउदी गएका आठ सय नर्समा कसैले पनि भेरिफिकेसन नलिएको जानकारी बताइन् । नेपाली नर्स बर्सेनि आठ हजारभन्दा बढी विदेसिनु नेपालका लागि राम्रो नभएको र नेपालमा राज्यले सेवा सुविधा दिन नसक्दा नर्सहरू विदेश जाने गरेको उनको भनाइ छ । 

साउदी आकर्षणको केन्द्र 

खाडीमा नेपाली नर्सको सबैभन्दा बढी आकर्षण साउदीमा छ । त्यहाँ अस्पतालमा काम गर्न पाउने, निःशुल्क जान पाउने, अनुभव नचाहिने, खान र बस्ने सुविधाले साउदी जान नेपाली नर्स आकर्षित भएको हुनसक्ने अध्यक्ष प्रा. केसीको भनाइ छ । साउदी जाने नर्स व्यक्तिगत रूपमै जान्छन् । 

उनका अनुसार उनीहरूलाई नर्सिङ काउन्सिलको भेरिफिकेसनको आवश्यकता पर्दैन । अस्पताललाई शंका लागेको अवस्थामा मात्र भेरिफिकेसनका लागि पठाउने गरेको छ । साउदीमा स्नातक गरेर गएका नर्सलाई अनुभव चाहिँदैन ।

खाडीमा जाने नर्सहरू म्यानपावर कम्पनीमार्फत जाने गरेका छन् । विगत तीन वर्षमा आठ सयभन्दा बढी नर्सलाई खाडी मुलुक पठाएको दाबी गर्ने एक म्यानपावर कम्पनीका अनुसार सुरुमै दुई लाख २० हजार रुपैयाँ तलब हुन्छ । 

यस्तै, पिसिएल गरेर गएका नर्सलाई भने एक वर्षको अनुभव हुनुपर्ने तलब एक लाख २० हजारदेखि एक लाख ६० हजार रुपैयाँसम्म हुने गर्दछ । खान र बस्न अस्पतालले दिने हुँदा त्यहाँ काम गर्ने नर्सलाई सहज रहेको म्यानपावरको ठम्याइ छ । त्यही भएर पनि नेपाली नर्सको रोजाइ खाडी मुलुक बनिरहेको धेरैको आकलन रहेको छ । 

  • प्रकाशित मिति : साउन २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया