१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

नागपञ्चमी : किन गर्ने नागको पूजा ?

वास्तवमा साउन १ गतेदेखि चाडपर्वहरू सुरु हुन्छ । वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने भएकाले त्यसलाई उत्तरायण र दक्षिणायन भनेर बुझ्ने गरिन्छ । साउने सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिएको हो । साउन महिना वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना भएकाले विभिन्न चाडपर्व सुरु हुने गरेका छन् । उत्तरायण प्रारम्भ भएपछि भने चाडपर्वहरू सकिन्छन् । हाम्रा जति पनि चाडपर्वहरू छन् ती सबै किसान र कृषिसँग सम्बन्धित छन् । 


मुख्यगरी खेतीपातीको मौजारो गरिसकेपछि चाडपर्वलाई स्वागत गरिन्छ । मैजारो गरेर साउन १ गते  मिठा खानेकुरा बनाएर खाने, रमाइलो गर्ने चलन छ । साउन १५ गते  खीर खाने प्रचलन छ ।  खीरमा बढीजस्तो  पौष्टिक तत्त्व  रहेको  हुनाले थाकेको  शरीरले  भोलिको  दिनमा काम गर्न  सकियोस्  भनेर  खीर  खाने  चलन चलेको  हो । तर  यो  चलन सहरमा बसेकाहरूका लागि बनाइएको होइन ।  सहरमा बसेका मान्छेहरू सधैँ खाइ नै रहेका हुन्छन् । विशेष गरी ग्रामीण इलाकामा बस्नेहरूलाई खीरको अलग्गै महत्त्व छ । साउन महिना हरियो चुरा लगाउन चलन छ । किनभने साउनभर पूरै पृथ्वी हरियो हुने र शिवजी खुसी हुने विश्वास छ । साउनको महिना शिवजीलाई बेलको पात नै चढाउने चलन छ । 



बेलको  पातको  महत्त्व  धेरै  नै  छ । तर कसैले जानेर चढाउने  गर्छन् भने  कसैले  नजानेर चढाउने गर्छन् । बेलको पत्र हरियो छ, यसमा जहिले पनि तीन वटा पत्ता हुन्छन् । तर कसैमा दुई वटा पत्र नि हुन्छन् । खास गरी भगवान् शिवलाई  चढाउँदा तीन वटा पत्र भएको चढाउनुपर्छ ।  तीन वटा पत्रको  भिन्नाभिन्नै महत्त्व  छ ।  जस्तै : ठुलो एउटा पात हुन्छ र अरू बिचमा दुई वटा पात छन् । त्यो मध्ये पनि एउटा ठुलो अनि एउटा सानो हुन्छ । तर यसमा पनि डाँठ नभएको चढाउनु हुँदैन । एउटा ब्रम्हा, एउटा पात विष्णु र अर्को पात महेश्वर हुन् । 

शिवजीको परिवारमा चार जनाको परिकल्पना गरिएको छ । बाबु शिव, आमा पार्वती, छोरा कार्तिक र कान्छाको नाम गणेश हो । शिवको महत्त्व सबैभन्दा ठुलो छ । सबैको एउटा एउटा वाहन छन् । शिवको वाहन–साँडे गोरु जो बिस्तारै हिँड्छ । पार्वतीको वाहन, बाघ जो छिटो दौडिन्छ । जेठो छोरा कार्तिकको वाहन मजुर जो छिटो उड्ने गर्छ । साथै कान्छो छोरा गणेशको वाहन मुसा जो बिस्तारै हिँड्ने गर्छ । तर शिवजीले सबैलाई मिलाएर राखेका छन् त्यसैले उनीबाट हामीलाई धेरै कुरा सिक्न भनिएको हो ।  



अब नाग पञ्चमीको महत्त्व पनि शिवजीसँग जोडिन्छ । शिवजीले आफ्नो गणनाका रूपमा सर्पलाई लिएका छन् । घाँटीमा सर्प लगाएर पनि शिवजी शान्त छन् । यसको  अर्थ  के हो भने, हाम्रो  जुन वायुमण्डल र पृथ्वी छ त्यहाँ सूर्यको विकिरण आउँछ । विभिन्न धुँवा धुलो र  समस्याले गर्दा गर्दा खेरी ओजन तह बिस्तारै बिस्तारै घटिरहेको हुन्छ ।  त्यहीँ ओजन तहलाई सर्पले सूर्यबाट आएको  विकिरणलाई  सर्पले  सोसेर  विषमा परिणत गर्ने गर्दछ । यो विज्ञानले पुष्टि गरेको कुरा हो । हिन्दुहरूले मरेको मान्छे जलाउने गर्छन् । जलाउँदाको धुवाँले चाहिँ ओजन तहलाई टाल्ने काम गर्दछ ।

 जलाउँदा पनि प्रकृतिले मान्छेले भलाइ गरिरहेको छ । विकिरणलाई नागले सोसेर लिन्छ । मानिसलाई जोगाउन सर्पले मद्दत गर्छ । शरीरमा विकिरण नै विकिरण र ब्याक्टेरियाहरू धेरै छन् । राम्रा ब्याक्टेरियाहरू पनि छन् जसले हामीलाई बचाएर राखेका पनि छन् । नराम्रा ब्याक्टेरियाहरू पनि छन् जसले शरीरलाई मार्न पनि  खोजिरहेका छन् । शरीरमा भएका विकिरणहरूलाई  सोसेर लिएर पनि सर्पले बचाइरहेको हुन्छ ।  जस करण पनि सर्पलाई बचाइराख्नुपर्छ ।  

बिच्छी र सर्पले हाम्रो शरीरमा भएका खराब तत्त्वलाई लिने काम गर्छ । त्यसैले पनि सर्पलाई हामीले बचाइराख्नु पर्दछ । हिँड्दा टोक्छ, मार्छ छुट्टै कुरा भयो तर बचेर काम गर्नुपर्छ । बिना आक्रमण नगरी त सर्पले पनि मार्दैन । सबै सर्पहरू विषालु नै हुन्छन् भन्ने पनि छैन । नागको प्रकार केही फरक पनि हुन्छन् । टाउकोमा सिउरो भएको सर्पहरूलाई नाग भन्ने चलन छ ।

भोलानाथ घिमिरे
हिन्दु धर्ममा आठ वटा नागको चाहिँ बढी महत्त्व दिइएको छ । विष्णु भगमानसँग शेषनाग मानिएजस्तै सबैको आफ्नो आफ्नो व्याख्या गरिएको छ । शिवजीले पनि शत्रुबाट बचाउनका लागि घाँटीमा नागको प्रयोग गरेको देखिन्छ । हामी कागजमा नागको तस्बिर बनाएर टाँस्ने गर्छौँ तर धातुको नाग बनाएर राखन सके राम्रो हुन्छ ।



नागको आकार र स्वरूप फरक फरक हुन्छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशा हुन्छन् । प्रत्येक तीन महिनामा नागको शिर फरक फरक हुन्छ । अहिले उत्तरतिर छ भने पश्चिमतिर नाग फर्काउनुपर्ने हुन्छ । टाँसेको नाग त फर्काउन सकिँदैन । धातुको नाग बनाएर राख्यौँ भने फर्काएर पूजा गर्न मिल्छ । नागको पूजा गर्दा धूप बाल्न हुँदैन । किनकि धूपले त सर्प भाग्छ । सर्पलाई रातो मन पर्दैन सेतो मन पर्छ । कपास मन पर्छ । सर्पका लागि मह विष हो दूध चढाउने चलन छ । खैनी पनि त्यत्तिकै विष हो । मानिसलाई प्यारालाइसिस हुनुको कारण सर्पसँग सम्बन्धित छ । 

शरीरमा सर्पको भूमिका बढी भएको मानिसहरूलाई कुण्डलीको १२ कोठा मध्ये ६ कोठा खाली भयो भने कालसर्प देखिने र मानिसलाई प्यारालाइसिस भएको मानिन्छ । इको सिस्टमका कारण पनि नागको महत्त्व भएको हो । साउन महिना भरी मानिसले प्रकृतिको पूजा गरिरहेको कारण इकोसिस्टमकै कारण हो । कङ्क्रिट भवनहरू बनाएर मात्र प्रकृतिको पूजा हुँदैन । मान्छे मासिएपछि कति वर्षपछि बल्ल घर ढल्छन् अनि विध्वंस हुन्छ । अनि मात्र प्रकृति आफ्नो ठाउँमा आउँछ ।  

पातलमा नागहरू धेरै बस्छन् भनिन्छ । किनकि पातलमा वा जहाँ धेरै समुन्द्र छ त्यहाँ धेरै बस्ने हो । वास्तविक वा साँच्चिकै नाग नेपाल पाइँदैन भनिन्छ । नागको पूजा गर्दा विषेशगरी कपास प्रयोग गर्नुपर्ने हुन्छ । दूध चढाउँछौँ । धान भुटेर लाभा चढाइन्छ । सेतो फूल नागलाई बढी मन पराउँछ । कालो सर्पको पूजा गर्दा नौ वटा नागहरू बनाएर बीचमा तामा, सुनको जे भए पनि काली नाग बनाएर राखिन्छ । खोलामा लगेर बगाउनुपर्छ । र नागको नृत्य गर्ने पनि चलन छ ।

प्राय ज्येष्ठको महिनामा आँधी आउँछ । तेर्सो खालको विजुजी चम्किन्छ । हावाले गर्दा मकै लड्छन् । हाम्रो काभ्रेको पनौतीको विशेष महत्त्व छ । पानी र हावाले पनौतीलाई असर गर्दैन भनिन्छ । त्यहाँ कुनै नाग थियो । कुनै तान्त्रिकले समातेर लग्यो तर वर्षमा एक पटक चाहिँ नाग त्यहाँ आउँछ भन्ने मान्यता छ । त्यसैले पनौतीमा भुईँचालो आए पनि घर भत्किँदैन । नागले रक्षा गरेको छ भन्छन् । 

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । प्रत्येक घरमा नाग रहेका हुन्छन् भनिन्छ । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । 

घिमिरेसँग कुराकानीमा आधारित
 

  • प्रकाशित मिति : २५ साउन, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया