नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक निर्देशक कुलमान घिसिङले आहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले चुनौतीको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिवद्धतासमेत व्यक्त गरे ।
‘आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण छन् । आहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु पहिलो चुनौती हो । उत्पादित विद्युतको वजार व्यवस्थापन दोस्रो चुनौतीको रूपमा रहेको छ । विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु तेस्रो चुनौती रहेको छ । चुनौतीहरूको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयास गर्ने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।’
उनले प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ जानकारी पनि दिए ।
प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्यांकन गरेको र जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको उनको विश्वास छ ।
‘प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति ८ वर्षअघि दुई खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्यांकन गरेको छ, जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको छ । देशभरी रहेको जग्गाहरूको एकिन गरी करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौं उपत्यकाभित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको छ,’ उनले भने ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको निर्देशक घिसिङको दाबी छ ।
उनले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने भन्दै गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको जानकारी दिए ।
सन् २०३५ भित्रमा २८ हजार मेगावट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने घिसिङले प्रतिबद्धता जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।