logo-img

पशुपति कोटीहोममा आचार्य कृष्ण दमाइको प्रवचन, भने- ‘हिन्दु संस्कार बचाउन एकजुट हौँ’

मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन् । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले आज प्रवचन दिएका हुन् । 

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए । प्रवचनका क्रममा आचार्य कृष्णले भने, ‘संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरुहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् । तर, मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु ।’

उनले कोटीहोममा उपस्थित भएपछि सबै जाती र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको धारणा राखे । 

‘दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा आजको यस ऐतिहासिक कोटीहोममा थप बल पुगेको छ । मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन,’ उनले ने । 

सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनुपर्ने धारणा राख्दै आचार्य कृष्णले धार्मिकरूपमा विभाजित गर्ने प्रवृत्तिबारे समेत सचेत रहनुपर्नेमा जोड दिए । 

‘हामीलाई विभाजित गरी सनातन धर्म संस्कारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । त्यसैले हिन्दूत्व र सनातन धर्मका लागि एकताबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउन र सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरुरी छ । सबैले आ–आफ्नो ठाउँबाट कम्मर कसेर उठ्नुपर्छ ।’ 



मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले नेपालमा नयाँ युगको सुरुआत भएको जिकिर गरे । 

‘दमाइ परिवारबाट आचार्य गर्नुभएका कृष्णलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई गर्व लागिराखेको छ, उहाँले निकै गहकिलो प्रवचन दिनुभयो । यो छुवाछूतविरुद्धको ठूलो क्रान्ति हो । बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद हटाउनुपर्छ । त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो,’ उनले भने ।



एक महिना अर्थात् साउनभर चल्ने कोटिहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजन सहभागी भएका त्यस अवसरमा जानकारी दिइयो । दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पराण गर्ने गरिएको छ । 

  • प्रकाशित मिति : साउन २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया