आजबाट कक्षा १२ काे परीक्षा शुरु, चार लाख परीक्षार्थी सहभागी

भक्तपुर– आजबाट कक्षा १२ काे परीक्षा देशभर सुरु भएकाे छ । 

आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । 

कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए। आगामी २६ गते सम्पन्न हुने परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको छ।

परीक्षामा सबभन्दा कम मनाङ जिल्लाबाट ५९ र सबभन्दा धेरै काठमाडौँ जिल्लाबाट ६२ हजार ५८८ परीक्षार्थीको सहभागी छन् । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ।

कारागार वा बाल सुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए।

परीक्षामा प्रश्नपत्रको सुरक्षाका लागि बोर्डले सिसी क्यामरा जडान गरेको छ। बोर्डले केन्द्र नजिकै सिसी टिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको छ।



परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्न सक्ने अधिकार दिएको छ भने परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महिना कैद र एक लाख रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए।

बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्ट्रेशन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ।



बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेशन नं इन्ट्री गरी हेर्नसक्ने व्यवस्था गरेको छ। परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिएको छ। कक्षा १२ को परीक्षा २६ गते सम्पन्न हुनेछ भने वैशाख २९ गतेबाट कक्षा ११ को परीक्षा शुरु हुनेछ। 

  • प्रकाशित मिति : बैशाख १५, २०७६ आइतबार १३:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया