शास्त्रीय संगीतकार गुरुदेव कामतको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शनिबार जमलस्थित नाचघरमा उक्त शोक सभा सम्पन्न भएको हो ।
सभामा कलाकार मदनदास श्रेष्ठले राजनीतिक दलको झण्डा बोक्नेले मात्र अवसर पाउने तर देशको लागि सोच्ने, योगदान दिने व्यक्तिको निधनले मर्माहत बनाएको बताए । उनले देशमा गीत, संगीतलाई जोगाउने सर्जकहरूलाई सहयोग र उनीहरूको विकासको लागि राज्यले धेरै संस्थाहरू खोले पनि काम नभएकोप्रति दुःख व्यक्त गरे ।
उनले भने, ‘हाम्रो देशमा गीत, संगीतलाई जोगाइराखेका सर्जकहरूलाई सहयोग र उनीहरूको विकासको लागि राज्यले धेरै संस्थाहरू खोलिएका छन् तर काम भएको छैन । सबै सर्जकहरूले कुनै न कुनै राजनीतिक दलको झण्डा बोक्नुपर्ने र त्यस्ताले मात्र अवसर पाउने अवस्था छ । देशका लागि सोच्ने, योगदान दिने व्यक्तिको निधनले दुखित बनाएको छ ।’
राज्य र सरकारले यस्तो सर्जकहरूको लागि सोचेको भए कामतले अझै देशको लागि धेरै योगदान दिन सक्ने पनि उनको भनाई छ । कामतको बिहीबार बिहान निजी निवास सिरहामा निधन भएको हो । ६९ वर्षीय संगीतकार कामत लामो समयदेखि मिर्गौला पीडित थिए । मिर्गौलाको उपचार गराइरहेका उनी आर्थिक समस्या भएपछि एक महिना अगाडि काठमाडौंबाट सिरहा घरमा पुगेका थिए ।
नेपाली गीत संगीत क्षेत्रमा ४० वर्षसम्म निरन्तर योगदान गरेका कामतको जन्म २०१२ साल साउन १७ गते सिरहामा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।