logo-img

देशभर फैलिँदै डेंगु र हैजा, कति पुगे सङ्क्रमित ?

पछिल्लो समय डेंगु र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ । 

चार दिनयता सात सय २२ जना डेंगु सङ्क्रमित थपिएका हुन् । यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेंगु पुष्टि भएको थियो ।  यो सङ्ख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए । 

उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । सबभन्दा बढी डेंगु तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ । काठमाडौं जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेंगु सङ्क्रमित देखिएका छन् । 

स्वास्थ्य मन्त्रालयले डेंगु सङ्क्रमितको सङ्ख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । ‘सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । 

४७ मा हैजा पुष्टि

यस्तै महाशाखाका अनुसार हैजाका बिरामीका सङ्ख्या ४७ पुगेका छन् । किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौं, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए ।  



उनका अनुसार ललितपुरमा ३४, काठमाडौंमा दुई, कैलालीमा आठ , प्यूठानमा दुई  र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ । 



  • प्रकाशित मिति : साउन २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया