logo-img

छोरीको महत्त्व र संघर्षको कथामा ‘सतीदेवी’

छोरीको संघर्ष र महत्त्वलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको अभिनेत्री मलिका महतले बताएकी छिन् । अभिनेत्री महतले महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिए पनि यो पूर्ण मनोरञ्जक रहेको बताइन् । 
 
‘चलचित्रमा सतीदेवी पात्रमार्फत छोरीको भोगाइ र परिवारसँगको अपेक्षा देखाइएको छ । म सहरिया परिवेशमा हुर्किए पनि उक्त पात्र र जीवनलाई सहजै महसुस गरेँ । चलचित्र कथा पढ्दा नै म पात्रसँग जोडिएकी थिएँ,’ अभिनेत्री महतले भनिन् ।

पत्रकार हुँदै चलचित्र निर्देशक बनेका लक्ष्मण सुवेदीले अभिनेत्री महतलाई मोबाइलमार्फत सन्देश (म्यासेज) पठाउँदै काम गर्न प्रस्ताव गरेका थिए । नयाँ नम्बरबाट आएको प्रस्तावमा अभिनेत्री महतले चलचित्रको कथा पढेर मात्र निर्णय दिने जवाफ दिएको स्मरण गरिन् । 

‘मैले उहाँ (निर्देशक सुवेदी)लाई नजिकबाट चिनेकी थिइन्, त्यसैले पहिला कथा पढेपछि भेटौँ भने । मेरो शैली नै यस्तै छ, कथा पढेपछि म अभिनय गर्न तयार भएकी हुँ । म काठमाडौंमै हुर्किए पनि यो कथा छोरी र बुबालाई सजिलै जोड्ने किसिमको छ । यो हरेक ठाउँको कथा हो,’ अभिनेत्री महतले भनिन् । 
 
निर्देशक सुवेदीले सामाजिक सञ्जालमा केही भिडियो हेरेपछि अभिनेत्री महतलाई चलचित्रमा शीर्ष भूमिकामा लिने निर्णय गरेका थिए । उनले भने, ‘मैले अभिनेत्री महतलाई विभिन्न भिडियोमा देखेँ, आफूले खोजिरहेको उमेर समूहसँगै पात्रलाई न्याय गर्न सक्ने ठम्याएँ । त्यसपछि मैले गरेको प्रस्तावमा उहाँ सकारात्मक भएपछि सहकार्य भयो ।’

उनले केही वर्षअगाडि सन्तानको रूपमा छोरी हुँदा एउटा परिवारले समाजमार्फत प्राप्त गर्ने प्रतिक्रिया र त्यसपछि परिवारमा आएको उतारचढावलाई देखेका रहेछन् । त्यही देखाइलाई उनले चलचित्रको कथामा रुपान्तरण गरेका हुन् । 

‘मेरो पनि छोरी मात्र छन् । तर, समाजमा अझै पनि केहीको धारणा छोरा हुनुपर्छ भन्ने छ । यो चलचित्रले छोरीको सक्षमतासँगै समानताको विषयलाई उठाएको छ । सतीदेवी नामक पात्रमार्फत ती छोरीले गरेको संघर्षले अन्यलाई प्रेरणा दिन्छ भन्नेमा विश्वस्त छु, यो छोरीहरूको कथा हो,’ निर्देशक सुवेदीले भने । 

चलचित्रमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनीषा सापकोटालगायतले अभिनय गरेका छन् । चलचित्र भदौ ७ गतेदेखि प्रदर्शन हुँदै छ ।
 





  • प्रकाशित मिति : साउन २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया