logo-img

कालीगण्डकी करिडोर : महभीरको पहिरोले दुर्घटनाको जोखिम

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभीर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । 

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।  

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभीरमा यसपालिको बर्खामा नयाँ पहिरो सिर्जना भएको बताए । ‘सात–आठ सय मिटरमाथिको भिरपाखो हुँदै सडकमा पहिरो खस्न थालेको छ’, उनले भने, ‘पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन ।’ 

पानी पर्नेबित्तिकै भिरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ । शनिबार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । महभीर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब ३ सय मिटर खण्डमा  क्षति भएको छ । मुस्ताङ, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ । 

दुई हप्ताअघि बेनीबाट पोखरेबगर जाँदै गरेको एउटा मोटरसाइकल महभीरको पहिरोमा पुरिएको थियो । यद्यपि त्यसका चालकले भागेर ज्यान जोगाएका थिए ।  

यसैबीच, महभीर, बैसरी, सिरुवारी, गुइठेभिरलगायत स्थानमा पहिरोको  जोखिम भएकाले त्यताबाट  यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, अन्नपूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अनुरोध गरेका छन् । रासस  





  • प्रकाशित मिति : साउन २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया