रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर शहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । सानै उमेरमा सहर पसेका मगर कोरोना कहरका कारण गाउँ फर्किएका थिए ।
कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गरे । कुखुराबाट खासै आम्दानी नभएपछि उनले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिए । त्यसपछि उनले मौरीपालन सुरु गरे ।
मगरले सुरुमा मेलिफेरा जातको १० घार मौरीबाट व्यवसाय सुरु गरेका थिए । ‘मैले ६ घार सेरेना जातको मौरी थपेँ, अहिले यो व्यवसाय गरेको तीन वर्ष भयो आम्दानी राम्रै छ,’ उनले भने ।
मगरले मौरीपालनसँगै मौरीका नयाँ घार उत्पादन गरी घारसहितका मौरी बेच्छन् । महभन्दा घारसहितको मौरी बिक्री चाँडो हुने र त्यसबाट बढी फाइदा हुने उनको अनुभव छ । मह र घार बिक्रीबाट उनले वार्षिक खर्च कटाएर ६ लाख कमाइ गर्ने गरेको बताए ।
आर्थिक वर्ष २०८०/८१ मा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि उनले रामेछाप नगरपालिकाबाट ३ लाख अनुदान प्राप्त गरे । सुरुमा लगानी गर्न समस्या भएको अवस्थामा अनुदान पाएपछि उनी उत्साहित छन् ।
मगरले १ लाख १५ हजार लगानी गरी मौरीपालन सुरु गरेका थिए । सबैभन्दा बढी खर्च मह काढ्ने मेसिनमा लागेको उनको भनाइ छ । पछि आफैंले घार निर्माण गर्न थालेपछि अहिले उनको बगैँचामा मेलिफेरा र सेरेना जातका ७० घार माहुरी छन् ।
मेलिफेरा जातका मौरीले वर्षमा चार/पाँचपटक मह उत्पादन गर्छ । यसले एकपटक मह काढ्दा एक घार बराबर १० देखि १५ केजीसम्म मह दिन्छ । सेरेना (लोकल) जातको माहुरीको घारबाट भने वर्षमा दुईपटक मात्र मह निकाल्न मिल्ने उनले बताए ।
अहिले महभन्दा पनि मौरीसहितको घारको माग बढी भएकोले उनले माउ उत्पादनमा जोड दिएका छन् । उनले उत्पादन र निर्माण गरेको मौरीसहितको घार १० हजारका दरले बिक्री गर्छन् ।
उनले सेरेना जातको माहुरीको मह प्रतिकेजी एक हजारदेखि एक हजार दुई सयसम्म बिक्री गर्छन् । १८ वर्षसम्म सहरमा रोजगारी गर्दा खासै पैसा कमाउन नसकेका मगर अहिलेको आम्दानीबाट सन्तुष्ट छन् । ‘देशका युवा लाइन लागेर विदेश गएको देख्दा आफूलाई पनि जाउँजाउँ लागेको थियो, तर विदेश गएर फर्केको साथीहरूको अनुभव सुन्दा नजाने अठोट लिएर गाउँमै काम गर्न थालेका हुँ,’ मगरले भने ।
मौरीपालन सुरु गरेको दुई वर्ष लगानी थप्दै जानुपर्ने र उत्पादन नहुनेजस्ता समस्या थियो । तेस्रो वर्षदेखि धमाधम उत्पादन हुन थालेपछि लगानी उठेको उनको अनुभव छ । कम मिहिनेत र लगानीमा राम्रो आम्दानी हुने यो व्यवसायका लागि विभिन्न स्थानीय तहहरूले आफ्नो नीति तथा कार्यक्रममा मौरीपालन समावेश गरेका छन् ।
सोहीअनुसार सुनापति गाउँपालिकाले उनीसँग १ सयवटा मौरीसहितको घार माग गरेको छ । रानीसहितको कर्मी मौरी उत्पादन गर्न केही समय लाग्ने भएकाले तत्काल मौरी उपलब्ध गराउन नसकिने मगर बताउँछन् ।
मौरीलाई अरिङ्गाल र मलसाप्रोबाट जोगाउन समस्या हुन्छ । धेरै घार भएपछि घर वरिपरि मात्र राखेर नहुने भएकाले बारीको कान्लामा राख्ने गरेकाले त्यहाँ अरिङ्गाल र मलसाप्रोले दुःख दिने गरेको छ । घारभित्रको महमा कमिलाले दुःख दिने भएकाले कमिलाबाट जोगाउन ‘स्ट्यान्ड’ बनाएर राख्नुपर्ने र मलसाप्रोबाट जोगाउन ढुङ्गाले थिचेर राख्नुपर्छ ।
मगरले अर्को वर्षसम्ममा तीन सय घार मौरी पाल्ने योजना बनाएका छन् । प्रायः मौरीपालक किसानले धेरै र चाँडो मह निकाल्न घार नजिक चिनी र चास्नी बनाएर राखिदिने गरे पनि आफूले त्यस्तो नगरेको र चास्नी बनाएर दिइरहनु नपर्ने उनको भनाइ छ ।
मौरीको घार विस्तार गर्दा रानी बनाउन कृत्रिम प्रविधि नअपनाइ प्राकृतिक तरिकाले रानी उत्पादन गर्ने गरेको उनी बताउँछन् । ‘घार फुटाएपछि मौरीहरूले आपत्कालीन रानी तयार पार्छन् रानी हराएको अवस्थामा माहुरीहरूले तीन/चार दिनको लार्भा अण्डा हालेर भए पनि तुरुन्तै रानी उत्पादन गर्ने भएकाले कृत्रिम तरिकाले रानी उत्पादन गरिरहनु पर्दैन,’ मगरले भने ।
रानी हराएको अवस्थामा दुई/तीन दिनसम्म कर्मी मौरीले रानी खोज्ने तर फेला परेन भने चौथो दिन देखि तीन÷चार दिनको लार्भा हालेर रानी तयार पार्ने मगरले बताए । उनले उत्पादन गरेको मह सदरमुकाम मन्थली छिमेकी जिल्ला दोलखा, सिन्धुली, काठमाडौं र भक्तपुरका बजारमा बिक्री हुने गरेको छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।