२ फागुन, २०८२ शनिबार
Feb. 14, 2026

७० घार मौरीका मालिक कृष्ण, मासिक आम्दानी ५० हजार

रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर शहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । सानै उमेरमा सहर पसेका मगर कोरोना कहरका कारण गाउँ फर्किएका थिए । 

कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गरे । कुखुराबाट खासै आम्दानी नभएपछि उनले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिए । त्यसपछि उनले मौरीपालन सुरु गरे ।



मगरले सुरुमा मेलिफेरा जातको १० घार मौरीबाट व्यवसाय सुरु गरेका थिए । ‘मैले ६ घार सेरेना जातको मौरी थपेँ, अहिले यो व्यवसाय गरेको तीन वर्ष भयो आम्दानी राम्रै छ,’ उनले भने ।

मगरले मौरीपालनसँगै मौरीका नयाँ घार उत्पादन गरी घारसहितका मौरी बेच्छन् । महभन्दा घारसहितको मौरी बिक्री चाँडो हुने र त्यसबाट बढी फाइदा हुने उनको अनुभव छ । मह र घार बिक्रीबाट उनले वार्षिक खर्च कटाएर ६ लाख कमाइ गर्ने गरेको बताए ।



आर्थिक वर्ष २०८०/८१ मा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि उनले रामेछाप नगरपालिकाबाट ३ लाख अनुदान प्राप्त गरे । सुरुमा लगानी गर्न समस्या भएको अवस्थामा अनुदान पाएपछि उनी उत्साहित छन् ।

मगरले १ लाख १५ हजार लगानी गरी मौरीपालन सुरु गरेका थिए । सबैभन्दा बढी खर्च मह काढ्ने मेसिनमा लागेको उनको भनाइ छ । पछि आफैंले घार निर्माण गर्न थालेपछि अहिले उनको बगैँचामा मेलिफेरा र सेरेना जातका ७० घार माहुरी छन् । 

मेलिफेरा जातका मौरीले वर्षमा चार/पाँचपटक मह उत्पादन गर्छ । यसले एकपटक मह काढ्दा एक घार बराबर १० देखि १५ केजीसम्म मह दिन्छ । सेरेना (लोकल) जातको माहुरीको घारबाट भने वर्षमा दुईपटक मात्र मह निकाल्न मिल्ने उनले बताए ।

अहिले महभन्दा पनि मौरीसहितको घारको माग बढी भएकोले उनले माउ उत्पादनमा जोड दिएका छन् । उनले उत्पादन र निर्माण गरेको मौरीसहितको घार १० हजारका दरले बिक्री गर्छन् ।



उनले सेरेना जातको माहुरीको मह प्रतिकेजी एक हजारदेखि एक हजार दुई सयसम्म बिक्री गर्छन् । १८ वर्षसम्म सहरमा रोजगारी गर्दा खासै पैसा कमाउन नसकेका मगर अहिलेको आम्दानीबाट सन्तुष्ट छन् । ‘देशका युवा लाइन लागेर विदेश गएको देख्दा आफूलाई पनि जाउँजाउँ लागेको थियो, तर विदेश गएर फर्केको साथीहरूको अनुभव सुन्दा नजाने अठोट लिएर गाउँमै काम गर्न थालेका हुँ,’ मगरले भने । 

मौरीपालन सुरु गरेको दुई वर्ष लगानी थप्दै जानुपर्ने र उत्पादन नहुनेजस्ता समस्या थियो । तेस्रो वर्षदेखि धमाधम उत्पादन हुन थालेपछि लगानी उठेको उनको अनुभव छ । कम मिहिनेत र लगानीमा राम्रो आम्दानी हुने यो व्यवसायका लागि विभिन्न स्थानीय तहहरूले आफ्नो नीति तथा कार्यक्रममा मौरीपालन समावेश गरेका छन् । 

सोहीअनुसार सुनापति गाउँपालिकाले उनीसँग १ सयवटा मौरीसहितको घार माग गरेको छ । रानीसहितको कर्मी मौरी उत्पादन गर्न केही समय लाग्ने भएकाले तत्काल मौरी उपलब्ध गराउन नसकिने मगर बताउँछन् ।  

मौरीलाई अरिङ्गाल र मलसाप्रोबाट जोगाउन समस्या हुन्छ । धेरै घार भएपछि घर वरिपरि मात्र राखेर नहुने भएकाले बारीको कान्लामा राख्ने गरेकाले त्यहाँ अरिङ्गाल र मलसाप्रोले दुःख दिने गरेको छ । घारभित्रको महमा कमिलाले दुःख दिने भएकाले कमिलाबाट जोगाउन ‘स्ट्यान्ड’ बनाएर राख्नुपर्ने र मलसाप्रोबाट जोगाउन ढुङ्गाले थिचेर राख्नुपर्छ । 

मगरले अर्को वर्षसम्ममा तीन सय घार मौरी पाल्ने योजना बनाएका छन् । प्रायः मौरीपालक किसानले धेरै र चाँडो मह निकाल्न घार नजिक चिनी र चास्नी बनाएर राखिदिने गरे पनि आफूले त्यस्तो नगरेको र चास्नी बनाएर दिइरहनु नपर्ने उनको भनाइ छ । 

मौरीको घार विस्तार गर्दा रानी बनाउन कृत्रिम प्रविधि नअपनाइ प्राकृतिक तरिकाले रानी उत्पादन गर्ने गरेको उनी बताउँछन् । ‘घार फुटाएपछि मौरीहरूले आपत्कालीन रानी तयार पार्छन् रानी हराएको अवस्थामा माहुरीहरूले तीन/चार दिनको लार्भा अण्डा हालेर भए पनि तुरुन्तै रानी उत्पादन गर्ने भएकाले कृत्रिम तरिकाले रानी उत्पादन गरिरहनु पर्दैन,’ मगरले भने ।

रानी हराएको अवस्थामा दुई/तीन दिनसम्म कर्मी मौरीले रानी खोज्ने तर फेला परेन भने चौथो दिन देखि तीन÷चार दिनको लार्भा हालेर रानी तयार पार्ने मगरले बताए । उनले उत्पादन गरेको मह सदरमुकाम मन्थली छिमेकी जिल्ला दोलखा, सिन्धुली, काठमाडौं र भक्तपुरका बजारमा बिक्री हुने गरेको छ । रासस  

  • प्रकाशित मिति : २७ साउन, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया