logo-img

उद्योगमन्त्री भण्डारी पुगे कोलकत्ता पोर्ट, पारवहन व्यापारबारे अधिकारीहरूसँग गरे छलफल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गरे ।

अवलोकन भ्रमणका क्रममा मन्त्री भण्डारीले भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सबलीकरण, ‘ट्रान्ससिपमेन्ट मोडालिटी’, भण्डारण जाचँपासलगायतका विषयमा जानकारी लिए ।

नेपालका तर्फबाट पारवहन लागत कम गर्ने विषयमा राखेको मन्त्री भण्डारीले जिज्ञासामा त्यहाँका प्रतिनिधिले चीनबाट हल्दिया र कोलकत्तामा सिधा कार्गो जहाजको व्यवस्था गरिएकाले सिङ्गापुरमा गरिने ट्रान्ससिपमेन्ट लागत कम भई सम्पूर्ण लागत नै घट्ने जानकारी दिएका छन् । 

पारवहन लागतको १० प्रतिशत मात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरूले बताएको मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिए । नेपाली महावाणिज्य दूतावास एवं नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको  समन्वयमा छलफल भएको थियो । 



अवलोकन भ्रमणमा कोलकत्तास्थित महावाणिज्य दूतावासका पदाधिकारी लगायतको उपस्थिति थियो । तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिई कोलकत्तास्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरी परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिए ।  





  • प्रकाशित मिति : साउन २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया