नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले २०८२ मंसिरमा महाधिवेशन गर्ने सुनिश्चितता केन्द्रीय समिति बैठकले गर्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै डा.कोइरालाले १५औँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरे ।
पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि समितिहरु बनाउन विलम्ब नगर्न उनले आग्रह गरे । देउवाकाे नेतृत्वमा आठ वर्षदेखि कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा आफूले गर्न नचाहेकाे तर कांग्रेसको जनाधार खुम्चिएको विषयकाे समीक्षा इतिहासले गर्ने बताए ।
‘मेरो आग्रह सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको १५ औँ महाधिवेशन लम्बाउने कुनै प्रपञ्च नगरौ,'कोइरालाले भने, 'पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अबिलम्ब समितिहरु बनाऔँ।'
१४औँ महाधिवेशनदेखि थाती रहेका क्रियाशील सदस्यतालगायत समस्या तत्काल समाधान गरी २०८२ मंसिरमा १५ औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गर्नुपर्ने उनले बताए ।
पार्टीलाई विधानअनुसार समय गुज्रेर गरिने कुनै पनि कार्य प्रभावकारी नहुने बताउँदै उनले महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने दाबी गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।