नेपाली बजारमा बढी मात्रामा दैैनिक उपभोग गरिने ब्रोइलर कुखुराको मासुमा मापदण्डभन्दा बढी मात्रामा एन्टिबायोटिक पाइएको छ । तर, मासुको रूपमा धेरै प्रयोग गरिने यही ब्रोइलर कुखुराको मासु पनि मानव स्वास्थ्यका लागि निकै घातक मानिने प्रतिजैविक (एन्टिबायोटिक)को प्रयोग गर्ने गरेको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक विवरणअनुसार केही समयअघि गरिएको एक अध्ययनमा काठमाडौं उपत्यकामा रहेका ब्रोइलर पोल्ट्री फार्ममा ९० प्रतिशतसम्म मानव स्वास्थ्यको लागि हानिकारक मानिएका विभिन्न प्रकारका एन्टिबायोटिकको प्रयोग गरेको पाइएको थियो ।
भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाको २०७९/०८० को तथ्यांकअनुसार ७१ वटा ब्रोइलर कुखुराको मासुका नमुनामा एन्टिबायोटिक परीक्षण गर्दा चारवटा कुखुराको मासुमा जेन्टामाइसिनको तह बढी पाइएको हो । त्यो वर्ष प्रयोगशालाले ४१ वटा नमुनामा टेट्रासाइक्लिन, ४१ वटामा कोलोस्टिन र ३८ वटामा सिफ्रोफ्लाक्सिनको मात्रा परीक्षण गरेको थियो । यी सबै औषधि एन्टिबायोटिक समूहमा पर्छन् ।
त्यसैगरी भेटेरिनरी गुणस्तर तथा औषधि नियम शाखाले आर्थिक वर्ष २०७८/०७९ मा गरेको इलाइजा प्रक्रियाबाट गरिएको ८० वटा नमुनामा दुईवटा कुखुराका मासु र चारवटा कलेजोमा सिफ्रोफ्लाक्सिन नामक एन्टिबायोटिक मापदण्डभन्दा बढी भेटिएको थियो । सोही प्रयोगशालाले आव २०७७/०७८ मा गरेको ८० वटा कोलोस्टिन सल्फेट र ४१ वटा टेट्रासाइक्लिन परीक्षण गरेकोमा कुनैमा पनि एन्टिबायोटिक देखिएन ।
केन्द्रीय पशुपक्षी रोग तथा अन्वेषण प्रयोगशालाले आव २०७८/०७९ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कैलालीबाट संकलन गरिएको ४२ वटा कुखुरा मासुमध्ये एउटा नमुनामा जेन्टामाइसिनको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो । उक्त नमुना कैलालीका मासु पसलहरूबाट संकलन गरिएको थियो । त्यो वर्ष प्रयोगशालाले एन्टिबायोटिक परीक्षणका लागि तीनसय ६८ वटा नमुना संकलन गरेको थियो ।
केन्द्रीय प्रयोगशालाले आव ०८०/०८१ मा परीक्षण गरेका ४१ वटा नमुनामध्ये दुईवटा कुखुराको मासुको नमुनामा फ्लोरोक्विनोलोन्सको मात्रा बढी पाइएको हो । उक्त नमुना सिन्धुपाल्चोकबाट संकलन गरिएको थियो । त्यो वर्ष प्रयोगशालाले विभिन्न एन्टिबायोटिक पत्ता लगाउन तीन सय १४ वटा नमुनाको इलाइजा प्रक्रियाबाट परीक्षण गरेको थियो ।
यी दुवै प्रयोगशालाको प्रतिवेदनले तीन वर्षको अवधिमा कुखुराको मासु र चारवटा कलेजोको नमुनामा विभिन्न प्रकारका एन्टिबायोटिकको अवशेष भेटिएको देखाएको छ । यो हिसाबले ११ वटा नमुनामा इलाइजा विधिबाट एन्टिबायोटिकको मात्रा मापदण्डभन्दा बढी देखिएको प्रतिवेदनले देखाएको छ ।
कसरी गरिन्छ परीक्षण ?
यो अवधिमा परीक्षण भएका कुखुराको कलेजोमा बढी मात्रामा एन्टिबायोटिकको मात्रा फेलापरेको भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले जनाएको छ । प्रयोगशालाले एन्टिबायोटिकलाई तीनवटा समूहमा राखेर परीक्षण गर्दै आएको छ । तीमध्ये समूह बीको एन्टिबायोटिक बढी मात्रामा परीक्षण गर्ने गरिएको छ । एन्टिबायोटिकको अवशेष भेटिएका यी नमुना प्रयोगशालाले बजारमा बिक्रीका लागि राखिएका मासुबाट संकलन गरेको थियो ।
प्रयोगशालाका अनुसार कुखुराको कलेजोमा र्यापिड र इलाइजा परीक्षण दुवै गर्दा एन्टिबायोटिकको मात्रा बढी पाइएको हो । कुखुराको कलेजोमा सल्फा र इमुनिग्लोकोसाइटको मात्रा बढी पाइएको भेटेरिनरी तथा औषधि नियमन प्रयोगशालाका पशु चिकित्सक सूचना अधिकारी डा. नवीन उपाध्याय (घिमिरे) बताउँछन् । ‘मासुमा भन्दा कलेजोमा एन्टिबायोटिकको अवशेष धेरै देखिन्छ । सुरुमा र्यापिड टेस्ट कीटबाट नमुना परीक्षण हुने र त्यसमा पोजिटिभ देखिएकै नमुनालाई इलाइजा विधिमा परीक्षण गरिन्छ,’ उनले भने ।
र्यापिडबाट परीक्षण गर्दा एन्टिबायोटिकको मात्रा कलेजो र मासु दुवैमा देखाए पनि यसको परिणाम भरपर्दो नभएकाले इलाइजा परीक्षण हुने गरेको प्रयोगशालाले जनाएको छ । तर, बेलाबखत संकलन गरिएका सीमित नमुनाका भरमा आएको नतिजाका आधारमा मुलुकभर एन्टिबायोटिकको स्थिति यकिन गर्न नसकिने पशु चिकित्सकहरूको भनाइ छ ।
त्यसैगरी भेटेरिनरी तथा औषधि नियमन प्रयोगशालाका पशु चिकित्सक डा. सुजाता पोखरेल अहिलेको परीक्षणका आधारमा एन्टिबायोटिकको मात्रा कति छ भन्न नसकिने र थप परीक्षण गर्नुपर्ने उनी बताउँछिन् । ‘सबै प्रदेशमा ठूलो संख्यामा नमुना परीक्षण गरिएमा मात्र यकिन अवस्था आउने भएकाले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको छ,’ डा. पोखरेलले भनिन् । उनका अनुसार नेपालमा तीन सयदेखि चार सयवटा नमुनाहरूको इलाइजा परीक्षण हुने गरेको छ । नेपालमा तीन वर्षअघिसम्म इलाइजा परीक्षणको अभ्यास थिएन । सरकारले तीन वर्षयतादेखि विभिन्न भागबाट नमुना संकलन गरी कुखुरा, दूध तथा अन्य मासुको परीक्षण गर्दै आएको प्रयोगशालाले जनाएको छ ।
मानव स्वास्थ्यलाई कति हानि ?
विशेष गरी पोल्ट्री फार्महरूले ब्रोइलर कुखुरालाई चाँडै ठूलो बनाउन (ग्रोथ हर्मोन) र कुनै पनि संक्रमणले नमरून् भनेर मानव स्वास्थ्यलाई असर गर्ने खालका विभिन्न प्रकारका एन्टिबायोटिकको प्रयोग गर्ने गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यही ब्रोइलर कुखुराको मासु मानिसले खाने र अन्डा, मासुको माध्यमबाट मानव शरीरमा हानिकारक मानिएका एन्टिबायोटिक जाने हुँदा पछिल्लो समय नेपालीको शरीरमा एन्टिबायोटिकको मात्रा बढिरहेको छ । यसले बिस्तारै मानव स्वास्थ्यमा हानि गरिरहेको जनस्वास्थ्यविज्ञले जनाउँदै आएका छन् ।
मासुमा हुने एन्टिबायोटिकले मानव स्वास्थ्य जोखिममा पार्ने कीटाणुविज्ञ तथा पशु चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार एन्टिबायोटिकसहितको मासु खाएमा अनावश्यक मात्रामा मानव शरीरमा एन्टिबायोटिक संकलन हुन्छ । मासुमा एन्टिबायोटिकको मात्रा धेरै भएको मासु खाएमा शरीरमा एन्टिबायोटिक रेसिस्टेन्सको समस्या आउने डा. सुजाता पोखरेलको भनाइ छ ।
‘कुखुराको शरीरमा कुन–कुन भागमा एन्टिबायोटिकको अवशेष के–कति छ भनेर परीक्षण गर्दा कलेजोमा सबैभन्दा बढी भेटिएको छ । त्यसैले ब्रोइलर कुखुराको कलेजो त झन् खानै हुँदैन,’ डा. सुजाताले भनिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।