logo-img

रोहित पाैडेलआबद्ध टोरन्टोले जित्यो ग्लोबल टी-२० लिगको उपाधि

चौथो संस्करणको ग्लोबल टी–२० क्यानडा लिगको उपाधि नेपाली कप्तान रोहितकुमार पौडेलआबद्ध टोरन्टो नेसनल्सले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मोन्ट्रियल टाइगर्सलाई ९ विकेटले हराउँदै टोरन्टोले उपाधि जितेको हो । 

उसले पहिलोपटक ग्लोबल टी–२० को उपाधि जितेको हो । फाइनलमा मोन्ट्रियलले दिएको ९७ रनको झिनो लक्ष्य टोरन्टोले १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि एन्ड्रिज गौसले ४९ बलमा ८ चौकासहित अविजित ५५ रन बनाए । यस्तै, रस्सीभानडर दुसेनले अविजित ३० रन जोडे । मोन्ट्रियलका लागि अजमातुल्लाह उमरजाई र कर्बिन बोशले मात्र एक/एक विकेट लिए ।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रियलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनायो । उसका लागि कर्बिन बोशले ३५, जसकरण सिंहले १६ र अनूप रविले १० रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत जोड्न सकेनन् । टोरन्टोका लागि जेसन बेहरेन्डोर्फले तीन, रोमारियो सेफर्डले दुई तथा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्दरपाल मथारुले एक/एक विकेट लिए ।

टोरन्टोमा आबद्ध रोहितले भने फाइनल खेलमा पनि प्लेइङ–११ मा मौका पाएनन् । यस सिजनमा टोरन्टोले कुल १० म्याच खेल्दा उनले दुई खेलमा मात्र प्लेइङ–११ मा मौका पाए ।



यद्यपि रोहित आफ्नो पहिलो सिजनमै च्याम्पियन टिमको सदस्य भने बने । यसपालि अरू नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्समा आबद्ध थिए ।

उनीहरूआबद्ध भ्यानकुभरले खराब प्रदर्शन गर्‍यो । ऊ तालिकाको पुछारमा रहँदै लिग चरणबाटै बाहिरिएको थियो ।  



  • प्रकाशित मिति : साउन २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया