logo-img

गङ्गटा खोज्न गएकाहरूले जब मानव कङ्काल फेला पारे
प्रतीकात्मक तस्वीर

म्याग्दीको बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताए । 

‘घटनास्थलबाट उत्खनन गरेको मानव कङ्काल र भेटिएका सामग्रीलाई सोमबार नै परीक्षणका लागि पठाउँछौँ’, उनले भने, ‘अनुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छौँ । कङ्काल र सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणहरूको खोजीमा केन्द्रित भएका छौँ ।’

१६ पुस २०८० को राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन् । घटनास्थलमा पुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् । मीनाको हत्यापछि जङ्गलमा शव गाडिएको हुनसक्ने आफन्तहरूको भनाइ छ ।

मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बेपत्ता मीना, कङ्काल, सामग्री र थुनामा रहेका युवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठले बताए । रासस 





  • प्रकाशित मिति : साउन २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया