logo-img

सेताे चिनीमा कालो धन्दा : सरकारकै कारण ठगिन्छन् उपभोक्ता [भिडियोसहित]

नेपालीहरूको मुख्य चाड दसैँ, तिहार, छठजस्ता ठूला पर्वहरू घर आँगनमा प्रवेश गर्दै छन् । यी ठूला चाडपर्वहरूमा आमनागरिक आपसमा भेला भएर खाने, पिउने अनि खुसी मनाउने गर्छन् । वर्षभरि कमाउने र यस्ता ठूला चाडपर्वमा रमाउने परम्परादेखि चलिआएको नेपाली प्रचलन हो । साउनपछि नयाँ आर्थिक वर्ष सुरु भएसँगै महिलाहरूको विशेष पर्व हरितालिका तीजलगायत आमनेपालीको मुख्य चाडपर्व सुरु हुन थाल्छन् । 

यस्ता ठूला चाडपर्वमा चिनी खपत धेरै हुन्छ । तर, हरेक वर्ष गुलियो चिनीको तितो पीडा सर्वसाधारणले भोग्दै आएका छन् । चार्डपर्वको समयमा हरेक वर्ष चिनी अभाव हुन्छ । सदाको वर्षझैँ चाडपर्व नजिकिएसँगै चिनीको विषयले फेरि एकपटक चर्चा पाएको छ । यस वर्ष पनि चाडपर्वको समयमा चिनीको हाहाकार हुने हो कि भन्ने चिन्ताले सर्वसाधारणलाई सताउन थालेको छ । सोही कुरालाई मध्यनजर गर्दै सरकारले भारतबाट चिनी आयात गर्ने तयारी गरेको छ । सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै भारतबाट चिनी आयात गर्दै आएको छ । 

कति ल्याइँदै छ चिनी ?

सरकारले यसपटक चाडपर्वलाई लक्षित गरी १९ हजार टन चिनी आयात गर्ने भएको छ । भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार टन चिनी आयात गर्न लागेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले चिनी आयात गर्न इच्छुक फर्म÷कम्पनीसँग प्रस्ताव आह्वान गर्न भनेको छ । 

चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २ हजार ६ सय टन तोकिएको विभागका सूचना अधिकारी राकेश पाण्डे बताउँछन् । कोटाको चिनी आयात गर्न भारतले तोकेको समयावधि आगामी ३० सेप्टेम्बरसम्म मात्र छ । अनुमति पाएको एक महिनाभित्र चिनी नल्याए अनुमति खारेज हुन्छ । त्यसैले तत्काल चिनी आयात गर्नुपर्ने देखिएको छ । 

अहिले ७० भन्दा बढी कम्पनीले आयातका लागि आवेदन दिएको उनको भनाइ छ । सरकारले जिटूजी (सरकार–सरकार)बाट चिनी आयात गर्न नसकेपछि निजी कम्पनीमार्फत आयात गर्न लागिएको हो । गत वर्ष नै चाडबाडमा हुने अभाव रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०–१० हजार टन आयातको जिम्मा दिएको थियो । तर, उनीहरूले त्यस बेला चिनी ल्याउन सकेनन् । अहिले पनि महँगो हुने भएका कारण साल्ट ट्रेडिङ र खाद्य कम्पनीले चिनी ल्याउन चाहेनन् । 



‘चिनी आयातका लागि हामीले धेरै पहिलादेखि मन्त्रालयसँग पहल गरिरहेका थियौँ,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी भन्छिन्, ‘तर, मूल्य अलि बढी नै भयो । हामीले ल्याउने भनेको यहाँ व्यापारीले बिक्री गर्ने मूल्यभन्दा कम मूल्यमा बिक्री गर्नलाई हो । तर, यसपटक सरकारले भनेको चिनी खरिद गर्दा मूल्य बढी नै हुने भयो । यहाँको बजारको मूल्यभन्दा बढी नै मूल्यको भयो भने त हामीले ल्याएर बिक्री गर्नुको के अर्थ रह्यो र ! त्यसकारण यसपटक हामीले ल्याएनौँ ।’ सोही कारण पनि सरकारले निजी कम्पनीमार्फत चिनी आयात गर्न लागेको हो ।

व्यवसायीबाट चिनी आएपछि नजिकिँदै गरेका दसैँतिहारमा अभाव हुने समस्या टर्ने उनी बताउँछन् । विभागबाट अनुमति प्राप्त गरेको मितिले साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी आयातीत चिनी बजारमा बिक्री गर्नुपर्ने सर्त तोकिएको छ । उनका अनुसार चिनीको गुणस्तरसमेत सरकारले तोकेबमोजिम हुनुपर्नेछ । अनुमतिप्राप्त कम्पनीबाट आयातीत चिनी मौज्दात, मूल्य, गुणस्तर र बिक्री विवरण साप्ताहिक रूपमा विभागमा बुझाउनुपर्ने सर्त तोकिएको छ । 



यदि भारतले दिने भनेको कोटाको चिनी व्यवसायीले ल्याउन नसकेमा यस वर्षको दसैँ–तिहारमा महँगो हुने देखिएको छ । अहिले नेपाली बजारमो चिनी पर्याप्त छ । तर, त्यो चिनी सबै चोरीको बाटोबाट आएका हुन् । यसरी चिनी ल्याउँदा एर्काेतिर राज्यलाई नोक्सान भएको छ भने अर्कोतिर उपभोक्ताले चर्को मूल्य तिर्न बाध्य छन् । भारतले सन् २०२२ को जुनमा चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध अझै कायम छ ।
 
अहिलेदेखि बढ्न थाल्यो मूल्य !

हरेक वर्ष चाडपर्वको समयमा चिनीको मूल्य बढ्छ । यस वर्ष पनि चाडपर्व नजिकिएसँगै चिनीको मूल्य अहिलेदेखि उकालो लाग्न थालेको छ । तीन हप्ताको समयमा चिनीको मूल्य किलोमा १० रुपैयाँ बढिसकेको छ । अहिले सर्वसाधारणलाई चिनी किन्दा किलोको १ सय १५ रुपैयाँ परिरहेको छ । दसैँ, तिहारसम्ममा यो मूल्य अझ बढ्ने निश्चित रहेको खुद्रा व्यापार संघले जनाएको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार करिब दुई हजार दुई सय मेट्रिक टन चिनी मौज्दात छ । उक्त चिनी कर्पोरेसनले स्थानीय व्यापारीसँग खरिद गरेको हो । दसैँ–तिहारमा मात्रै कर्पोरेसनमा करिब ३० देखि ३५ हजार मेट्रिक टन चिनीको माग हुने गरेको छ । 

मन्त्रालयले ३० जेठ २०८१ मा उद्योग विभागलाई पत्र पठाएर निजी क्षेत्रका लागि प्रक्रिया बढाउन भनेको थियो । सोहीअनुसार विभागले २ असारमा सूचना जारी गर्दै चिनी आयातका लागि उद्योगलाई आवेदन दिन भनेको थियो । त्यतिबेला नौवटा निजी कम्पनीले आयात अनुमति पाएका त थिए । तर, उनीहरूका लागि भन्सार छुट दिइएन । भन्सार छुट नभएपछि महँगो भएको भन्दै उनीहरूले चिनी ल्याएनन् । 

अब भने सोही चिनी व्यापारिक प्रयोजनका लागि चिनी ल्याउन विभागले नेपाली फर्म–कम्पनीलाई लक्ष्यित गरी सूचना जारी गरेको छ । उनीहरूलाई पनि भन्सार छुट दिइएको छैन । चिनी आयात गर्दा ३० प्रतिशत भन्सार महसुल तिर्नुपर्छ । त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । त्यसैले पनि यस वर्ष चिनीको मूल्य अझ बढ्ने निश्चित भएको छ । 

त्यसमाथि चाँडै चिनी आयात गर्न नसकिए बजारमा चिनी अभाव भई कालोबजारी बढ्ने देखिन्छ । साल्ट र खाद्यले चिनी आयात गरेको भए ५० प्रतिशत छुट अर्थात् १५ प्रतिशत भन्सार महसुल तिरे पुग्थ्यो । त्यसो हुँदा सर्वसाधारणले पनि सस्तो मूल्यमा चिनी सहजै पाउने थिए । अब भने चिनीको मूल्य वृद्धि र अभाव हुने देखिन्छ ।

सधैँ किन आयातमा भर ?

नेपालसँग चिनीको वार्षिक उपभोगको यकिन तथ्यांक छैन । तथ्यांक नहुँदा हरेक वर्ष माग र आयातको अनुपात नमिल्ने देखिएको बताउँछन्, विभागका सूचना अधिकारी पाण्डे । ‘नेपालमा यति नै चिनी खपत हुन्छ भन्ने त्यस्तो ठ्याक्कै तथ्यांक हामीसँग छैन,’ उनी भन्छन्, ‘चिनी उत्पादनको तथ्यांक चिनी उत्पादक संघसँग हुनसक्छ । आयातको तथ्यांक भने भन्सार विभागसँग हुन्छ । हामीसँग यसको ठ्याक्कै तथ्यांक छैन ।’ व्यवसायीको भनाइअनुसार नेपालमा वार्षिक करिब अढाई लाख टन चिनीको माग रहेको उनी बताउँछन् । 

चिनीका लागि चाहिने उखु पनि नेपालमै उत्पादन हुन्छ । तर, पनि हरेक वर्ष दसैँलगायत चाडपर्वको मुखमा चिनीको अभाव हुने गरेको छ । त्यसैले यो वर्ष पनि दसैँ, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै जाँदा चिनी आयात गरेर अभाव पूर्तिको तयारी सरकारले गरिएको हो ।

गत आर्थिक वर्षमा २० लाख टन उखु क्रसिङ भएको थियो । त्यसमा १ लाख ८० हजार टन चिनी उत्पादन भएको चिनी उद्योग संघले जनाएको छ । संघका अनुसार देशभर १४ वटा चिनी उद्योग छन् । यी उद्योगले स्वदेशी माग धानेर पनि निर्यात गर्न सक्ने क्षमताका छन् । तर, नेपालका उद्योगहरूले क्षमताअनुसार चिनी उत्पादन गर्न नसक्दा चिनी अभाव भई मूल्यसमेत बढ्ने गरेको छ । 

चिनी उद्योगले समयमा नै उखु किसानलाई रकम भुक्तानी नगर्दा पछिल्लो समय किसान उखु खेतीबाट पलायन हुँदै छन् । किसानहरू सरकार र चिनी उद्योगीबाट पीडित हुने हुनाले पनि उखु खेतीको विकल्प रोज्न थालेका हुन् । 

अब सुपथ मूल्य पसलमा पाइँदैन चिनी !

सरकारले हरेक वर्ष चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । सर्वसाधारणलाई सहुलियत दिने उदेश्यले दसैँ तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइन्छ । यो समयमा नेपालीहरूले अत्यधिक खर्च र किनमेल गर्ने गर्छन् । वर्षमा सबैभन्दा धेरै किनबेच चल्ने चाडबाडमा उपभोक्ता नठगिऊन् भन्ने लक्ष्यसहित सुपथ मूल्य पसल सञ्चालनमा आउँछ । जसमा विभिन्न खाद्य वस्तुसँगै चिनीमा समेत सर्वसाधारणलाई सहुलियत दिइन्छ । 

तर, यस वर्ष सुपथ मूल्य पसलमा चिनी पाइने सम्भावना एकदमै न्यून छ । हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारी कोटाको चिनी आयात गरी सुपथ मूल्य पसलमार्फत केही सस्तोमा सर्वसाधारणलाई चिनी बिक्री गरिँदै आइएको थियो । तर, यसपटक जिटूजी (सरकार–सरकार)बाट आयात गरिँदै आएको चिनी खाद्य र साल्टले महँगो परेको भन्दै ल्याउन मानेन । सोहीअनुसार चिनी आयात निजी क्षेत्रमार्फत ल्याउने तयारी गरिएको छ ।  

यसपटक जिटूजीमार्फत खाद्य र साल्टले खरिद नगरेको हुनाले सहुलियत रूपमा सुपथ मूल्य पसलबाट सर्वसाधारणले चिनी खरिद गर्न पाउने सम्भावना एकदमै न्यून छ । तर, यस विषयमा अहिले नै निर्णय भइनसकेको तर्क गर्छन्, विभागका सूचना अधिकारी पाण्डे । भन्छन्, ‘यस विषयमा अहिले नै निर्णय भइसकेको छैन । अझै समय छ । यस विषयमा पछि छलफल हुन्छ ।’ चाडपर्वको समयमा खाद्य र साल्टले चिनी बिक्री नगरे झनै कालोबजारी बढ्ने निश्चित छ । 

  • प्रकाशित मिति : साउन २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया