राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने बताएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले विधेयक दर्ता गर्ने तयारी गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।
‘आजको बैठकमा टीआरसीसम्बन्धी विधेयक संसदमा दर्ता गरिएको छ । त्यसबारेमा पनि संसदमा छलफल गरेका छौँ । संसदका गतिविधि र मुद्दाहरू कसरी अगाडि बढाउने भन्ने विषयमा नै छलफल भएको हो । हामीले जलनसम्बन्धी गैरसरकारी एउटा विधेयक दर्ता गराउने तयारी गरेका छौँ । छलफल हुँदै छ सम्भवतः आज नै दर्ता गर्छाैँ,’ परियारले भने ।
प्रतिनिधि सभाको जारी बैठकमा पेस हुन लागेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रास्वपाले समर्थन गर्ने परियारको भनाइ छ । त्यस्तै, पार्टी सभापति रवि लामिछानेले उद्योग व्यवसायीले बाँकी बक्यौता तिर्नुपर्ने बताए ।
‘व्यवसायीहरूले प्रयोग गरेको विद्युतको बाँकी बक्यौता तिर्नुपर्छ, नो ‘इफ’ र नो ‘बट’ भनेर संसदमा पनि भनेका छौं । जसरी सर्वसाधारणले तिर्दै आएका छन् त्यसरी नै सबै जनाले बक्यौता तिर्नुपर्छ । यो कुनै प्रधानमन्त्री र मन्त्रीले आदेश दिने कुरा होइन । भष्ट्राचारको समेत कुनै हदम्याद हुनु हुँदैन । मान्छे मरिसकेपछि पनि सजाय सुनाइएको हुनुपर्दछ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।